बाढीमा परी मृत्यु भएकाका परिवारलाई राहत रकम प्रदान

बाढीमा परी मृत्यु भएकाका परिवारलाई राहत रकम प्रदान


सर्लाही  । बाढी तथा डुबानमा परेर ज्यान गुमाएका सर्लाहीको बलरा नगरपालिकाका दुई परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले राहत रकम पीडित परिवारलाई हस्तान्तरण  गरेका हुन् । प्रजिअ अधिकारीले मृत्यु भएका दुई परिवारलाई जनही दुई लाख बराबरको चेक हस्तान्तरण गरिएको जानकारी दिए।

गत असोज १२ गते बागमती नदीमा आएको बाढी बाँध फुटाएर गाउँ पस्दा जिल्लाको दक्षिण पश्चिम बलरा नगरपालिका-३, लक्ष्मीपुरका १३ वर्षीय अंकित ठाकुर र वडा नम्बर-१, हथियौलका २७ वर्षीय पवन गिरीको मृत्यु भएको थियो ।

उनीहरू दुवै जनाको शव खोजीको क्रममा तेस्रो र चौथो दिन फेला परेको थियो । दुवै जनाका परिवारलाई घरमै पुगेर राहत स्वरूप संघीय सरकारले निर्णय गरेको रकम प्रदान गरिएको हो ।

त्यसैगरी पालिकाका दुई पीडित परिवारलाई बलरा नगरपालिकाले पनि जनही एक/एक लाख राहत रकम प्रदान गर्ने निर्णय गरेको बलरा नगरपालिका प्रमुख रामाशंकर प्रसाद कुशवाहाले जानकारी दिए। विपन्न पीडित परिवारलाई सोही राहत रकमबाट मिलान गर्ने गरी तत्काललाई काजकिरियाको लागि शुक्रबार मात्र जनही रु. २५ हजार रकम उपलब्ध गराएको उनको भनाइ थियो ।

यस्तै अविरल वर्षापछि सोती खोलामा आएको बाढीले बगाएर सर्लाहीको बागमती नगरपालिका(९, सक्रौल टोलका १४ वर्षीय मुकेश महतोको पनि मृत्यु भएको थियो । महतो परिवारलाई पनि राहत स्वरूप रु. दुई लाख प्रदान गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।