उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कावा मेयर दिएर बेलायत जाँदै हर्क साम्पाङ

उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कावा मेयर दिएर बेलायत जाँदै हर्क साम्पाङ


काठमाडौँ । बेलायत भ्रमणमा जान लागेका धरानका मेयर हर्क साम्पाङले वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् ।

चर्चा र विवादमा आइरहने मेयर साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । उनले बुधवार असोज २८ गतेबाट लागू हुने गरी फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

बिहीबारबाट सार्वजनिक बिदा हुने भएको बुधबार नै साम्पाङले फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । मेयर साम्पाङ असोज २८ गते सोमवारदेखि धरान बाहिर जाने कार्यक्रम तय भएको छ ।

यसअघि पनि विभिन्न पालिकाहरूले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक दिएको विषयमा विवाद हुँदै आएको थियो । कार्यवाहकको जिम्मेवारी पाएका अध्यक्ष फागोले आफूलाई कार्यालयमा बोलाएर पत्र दिएको बताए ।

कानूनतः नगर प्रमुख वा गाउँपालिका अध्यक्ष ७ दिन वा बढी समय उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकामा उपस्थित नहुने भएमा उपप्रमुख वा उपाध्यक्षलाई कार्यभार सुम्पने व्यवस्था छ । तर मेयर साम्पाङले वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।