अलैंची उत्पादन कम भएपछि कारोबार सिजनमै मूल्य उच्च, कति छ भाउ?

अलैंची उत्पादन कम भएपछि कारोबार सिजनमै मूल्य उच्च, कति छ भाउ?


काठमाडौं। यो वर्ष अलैंची उत्पादन घटेको छ। कारोबारको मुख्य याममा किसानले राम्रो भाउ पाएका छन्। मसलाका रुपमा प्रयोग गरिने अलैंचीको भाउ यतिबेला प्रति केजी २ हजार रुपैयाँभन्दा बढी भएको छ।

स्थानीय बजारमा महँगो पर्ने भएकाले न्यून परिमाणमा मात्र यहाँ खपत हुने गरेको छ। नेपालमा उत्पादित अलैंची ८० प्रतिशत भारतमा निर्यात हुने गरेको छ।

अलैंची लगाउने सिजनमा पर्याप्त वर्षा नभएपछि खडेरीले १० प्रतिशत उत्पादन कम भएको अलैंची उत्पादक संघले जनाएको छ। साथै, गत साताको बाढीपहिरोका कारण १० प्रतिशत उत्पादन घट्ने भएको संघका अध्यक्ष निर्मल भट्टराईले बताएका छन्।

अहिले जलवायु परिवर्तनले गर्दा उत्पादन कम हुने भएको थियो। गत साताको बाढीले थप उप्पादनमा नोक्सान पुर्‍याएको उनले बताए। यतिबेला अलैंची खेती पूर्वमा मेचीका पहाडी क्षेत्रमा मात्रै नभइ धादिङ, नुवाकोटदेखि सुदूरपश्चिमसम्म फैलिरहेको छ।उत्पादन बढ्नुपर्ने समयमा विभिन्न कारणले घट्दै गएको उनको भनाइ छ।

हरेक वर्ष अलैंचीको निर्यात ८ अर्बभन्दा बढीको हुने गरेको छ। गत वर्ष उत्पादन कम भएका कारण ५० प्रतिशत निर्यात भएको थियो। करिब ७ अर्ब ९५ करोड रुपैयाँको अलैंची निर्यात भएको छ।

यो वर्ष पनि करिब ७ देखि ८ अर्बको अलैंची निर्यात गर्ने लक्ष्य रहेको उनी बताउछन्।

केही वर्षयता उत्पादन कम भएका कारण किसानले अलैंचीको भाउ राम्रो पाइरहेका छन्। चालु आवमा पनि भाउ राम्रो भएकाले निर्यात रकम धेरै हुने अनुमान गरेको हो।

अहिले अलैंचीको सिजन सुरु भएसँगै किसानले प्रति मन ८५ हजार रुपैयाँ पाइरहेका अध्यक्ष भट्टराइले बताए। ग्रेडिङ अनुसार अलैंचीको भाउ फरक छ। ‘उच्च गुणस्तरको अलैंचीकी भाउ ८८ हजार रुपैयाँ छ,’ उनले भने, ‘पोहोर सिजनमा किसानले प्रति मन ६० हजार देखि ९० हजार रुपैयाँसम्म बिक्री गरेका थिए।’

यतिबेला केही किसान भाउ अझै बढ्ने आकलन गर्दै अलैंची बिक्री नगरी बसेका पनि छन्। उत्पादन कम भएपछि माग बढ्छ।हालसम्मको अवस्था हेर्दा भाउ प्रति मन ९५ हजार रुपैयाँभन्दा बढी पुग्ने भएपछि किसानहरुले अलैंची जम्मा पारेर राख्न थालेका उनले बताए।

यो वर्ष उत्पादन घट्ने

अलैंची उत्पादक संघका अनुसार यो वर्ष अलैंची उत्पादन २० प्रतिशत घट्ने भएको छ।

गत वर्ष देशभर ५ हजार ५ सय मेट्रिक टन अलैंची उत्पादन भएको थियो। यो वर्ष खडेरी र बाढीपहिरोका कारण ४ हजार मेट्रिक टनमात्र उत्पादन हुने अनुमान गरिएको संघका अध्यक्ष भट्टराइले बताए।

‘देशभर अलैंची उत्पादन गर्ने किसानहरु संख्या बढिरहे पनि उत्पादन पर्याप्त हुन सकेको छैन,’ उनले भने।

नेपाली अलैंचीको ठूलो परिमाणमा भारतमा निर्यात हुन्छ। बंगलादेशमा निर्यातको सम्भावना भएपछि ३५ प्रतिशत भन्सार शुल्क रहेकोले व्यवसायीहरुले निर्यात नगरेको संघले जनाएको छ। अलैंची उत्पादकमध्येको भुटानमा यसपटक उत्पादन कम छ। त्यसैले भारतीय व्यवसायीले यताबाट खरिद गरेर भुटानमा अवैध रुपमा निर्यात गर्ने गरेको पाइएको छ।