मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमबार २३ सदस्यीय अन्तिम टोली छनोट गरेको एन्फाले जनाएको हो। नेपालले युरोपियन लिग खेलिरहेकी सावित्रा भण्डारी र रेखा पौडेललाई टोलीमा समेट्दै फाइनल टिमको घोषणा गरेको हो।
नेपाली टोलीको कप्तानी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले गर्ने छिन्। च्याम्पियनसिपमा दक्षिण एसियाका सातै टोली नेपाल, मालदिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउने तय भएको छ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिताको आयोजना गरिएको छ। समूह ‘ए’ मा साबिक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन्।
समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र मालदिभ्स छन्। च्याम्पियनसिपको पहिलो खेल भारत र पाकिस्तानबीच हुने छ।
नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग कात्तिक २ गते खेल्ने छ। नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिपको आयोजना गर्न लागेको हो।
यसअघि सन् २०१९ मा विराटनगरमा पाँचौँ संस्करण आयोजना भएको थियो भने २०२२ मा छैटौँ संस्करण काठमाडौँमै आयोजना भएको थियो ।
त्यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले साफ महिला च्याम्पियनसिप आयोजना गरेका थिए।
यस्तो छ नेपाली टोलीमा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ डिफेण्डर, गीता राना, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिरा कुमारी भुजेल, सजनी थोकर मिडफिल्डर, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिसा कार्की, विमला चौधरी फरवार्ड, रश्मि कुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल, सावित्रा भण्डारी छन् ।
प्रतिक्रिया