नगरपालिकाले थिमिको सडक अपांग मैत्री बनाउने

नगरपालिकाले थिमिको सडक अपांग मैत्री बनाउने


भक्तपुर ।

मध्यपुरथिमि नगरपालिकाका सडक अपांग मैत्री बनाउन थालिएको छ ।

नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपांगमैत्री बनाउन थालिएको हो ।

सडकको दुवैतर्फ पैदलमार्ग निर्माण गर्ने र सो पैदलमार्गको बीच भागमा पहेँलो रेखांकन गरिएको छुट्टै लाइन ट्याकटायल निर्माण गरी दृष्टिविहीनलाई पनि पैदल हिँड्न सहज हुनेगरी सडकलाई अपांगता मैत्री बनाउन थालिएको नगरपालिकाका प्रवक्ता एवं ३ वडाका वडाध्यक्ष कृष्णहरि आचार्यले बताए ।

उनका अनुसार गट्ठाघरचोकदेखि सानोथिमि चोकसम्मको सडक अपांगमैत्री भएको छ । थिमिस्थित मध्यपुर अस्पताल हुँदै सूर्यविनायक नगरपालिकाको गाम्चा जाने सडकको फुटपाथ निर्माणसँगै अपांग मैत्री बनाउने कार्य भइरहेको छ ।

यसैगरी छिट्टै अरनिको राजमार्गको चारदोबाटो चोकबाट बालकोट जाने सडकको हनुमन्ते पुलसम्मको सडकलाई पनि अपांगमैत्री बनाइने र थिमि चारदोबाटोदेखि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल हुँदै सिद्धिकाली चोकसम्मको सडकलाई पनि अपांग मैत्री बनाउने पहल भइरहेको प्रवक्ता आचार्यले जानकारी दिए ।

नगरपालिकाले सडकको मापदण्डअनुसार सिमांकन गर्ने र सडक विभागले फुटपाथ निर्माण गरी सडकलाई अपांगमैत्री बनाउने कार्य भइरहेको नगरप्रमुख श्रेष्ठले बताए ।

सडकमा अपांगमैत्री पैदलमार्ग निर्माणसँगै सडकको सौन्दर्यसमेत वृद्धि भएको स्थानीयवासीको भनाइ थियो ।