रवि लामिछानेमाथि लागेको के हो संगठित अपराध मुद्दा ?

रवि लामिछानेमाथि लागेको के हो संगठित अपराध मुद्दा ?


काठमाडौ । सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा पूर्वगृहमन्त्री रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन्। कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ। सहकारी ठगीको विषय यसअघि नै समाचारहरू सार्वजनिक भए। तर, उनीमाथि लागेको संगठित अपराध के होरु भन्ने विषयमा धेरैमा कौतुहलता छ। तीन वा सोभन्दा बढी व्यक्तिहरू मिलेर गरिने अपराध नै संगठित अपराध भएको कानुनीका जानकार बताउँछन्। विद्यमान कानुनअनुसार तीन जनाभन्दा धेरैको समूहमा गरिने सबै अपराध भने संगठित अपराध होइन। अपराध गर्दाको बखत उनीहरूले गर्ने क्रियाकलापको आधारमा संगठित अपराधलाई बुझ्न सकिने कानुनविद्हरू बताउँछन्।

पूर्वगृहमन्त्री तथा रास्वपा सभापति लामिछानेको सन्दर्भमा उनी पक्राउ पर्नुअघि सहकारी ठगी मुद्दामा पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा सोही प्रकरण संगठित तरिकाले अपराध भएकाले उनीमाथि संगठित अपराधको मुद्दा पनि समावेश गरिएको प्रहरी अधिकारीहरू बताउँछन्।
कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त शर्माले भने, ‘पूर्वगृहमन्त्रीविरुद्ध सहकारी ठगी र संगठित अपराध मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ।’

पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताहरूले राखेको पैसा गोर्खा मिडियामा लैजाने क्रममा योजनाबद्ध धेरै मानिसहरू संलग्न गराएरको हुनाले उनीमाथि पनि संगठित अपराधको मुद्दा आकर्षित भएको कानुन व्यवसायीहरूको भनाइ छ। सोही मुद्दामा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई यसअघि नै पक्राउ गरेर अहिले उनीमाथि बयान लिने क्रम जारी छ।