पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले समाजका हरेक नागरिकलाई आधारभूत सुविधा र सम्मानजनक वातावरण प्रदान गर्नु राज्यको दायित्व भएको बताएका छन् ।
मन्त्री यादवले आज कारागार कार्यालय वीरगञ्जको निरीक्षण गर्दै कैदी बन्दीहरूको जीवनस्तर र भौतिक पूर्वाधारको सुधारमा सरकारले ध्यान दिने बताए । “कैन्दीबन्दीसँगको छलफलको क्रममा शौचालय र खानेपानीको समस्याको विषयमा अवगत गराएका छन् । यी दुवै काम खानेपानी मन्त्रालय मातहत पर्ने भएकाले सोको आवश्यक व्यवस्थापन गर्नका लागि निर्देशन दिएको छु, उनले भने, ‘‘कारागारमा क्षमता भन्दा धेरै कैदीबन्दी, जीर्ण पूर्वाधार र विद्युतको समस्याको विषयमा भने सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेछु ।”
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले कारागार सुधार गर्नका लागि महानगरले आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “महानगरले महिला कैदीबन्दीहरुको स्वास्थ्य र सरसफाइलगायत आधारभूत आवश्यकता पूरा गर्नका लागि सहजीकरण गर्नेछ,” उनले भने ।
पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले पनि प्रहरीको जिम्मेवारी सुरक्षाको साथसाथै कैदीहरूको मानव अधिकारको प्रत्याभूति गराउने रहेको जानकारी दिए । कारागार कार्यालय वीरगञ्जका निमित्त प्रमुख विनय श्रीवास्तवले कारागारको विषयमा आवश्यक जानकारी गरे ।
प्रतिक्रिया