काठमाडौ – युक्रेनीहरू अमेरिकी राष्ट्रपति चुनाव अभियानको अन्तिम दिनहरूलाई चिन्तापूर्वक हेरिरहेका छन्। केहीले डोनाल्ड ट्रम्पको जितले वासिङ्टनको महत्त्वपूर्ण सहयोग रोक्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
मंगलबारको अमेरिकी मतदान रुससँगको युद्ध तेस्रो वर्षमा प्रवेश गरिरहेको वेला हुँदै छ। युद्धमा संख्याया कम र कमजोर हतियार भएको युक्रेनी सेनाले रुसी सेनाको अग्रगमनको सामना गरिरहेको छ। मस्कोको प्योङयाङसँगको गठबन्धन पहिलेभन्दा बलियो देखिएको छ। वासिङ्टन र सोलले हजारौँ उत्तर कोरियाली सैनिक रुस पठाइएको बताएका छन्।
यसविपरीत युक्रेनका युद्ध–थकित समर्थकहरू ट्रम्पको ह्वाइट हाउसमा सम्भावित फर्काइले थप निराश हुन सक्छन्। ट्रम्पले किएभलाई कुनै सहयोगको आश्वासन दिएका छैनन्। ‘ट्रम्पको जितले गम्भीर जोखिमहरू सिर्जना गर्नेछ। स्थिति चिन्ताजनक हुनेछ,’ अमेरिकामा युक्रेनका पूर्वराजदूत ओलेग सामसुरले एएफपीलाई भने।
वासिङ्टनले नाटो–व्यापी युक्रेनलाई समर्थन गरेको छ। किएभले अत्यधिक शक्तिशाली रुसविरुद्ध लड्न सक्षम बनाउन अर्बौं डलरको आर्थिक र सैन्य सहयोग प्राप्त गरेको छ।
यद्यपि, यो समर्थन विगत केही महिनामा युरोप र संयुक्त राज्य अमेरिकामा कमजोर भएको छ। युक्रेनप्रति अमेरिकी समर्थनको ट्रम्पको बारम्बार आलोचना र २४ घण्टाभित्र लडाइँ समाप्त गर्ने दाबीले युक्रेनको चिन्ता बढाएको छ। ‘न त ट्रम्प न त ट्रम्पको टोलीले युक्रेनको विजयमा विश्वास गर्छन्,’ सामसुरले भने।
ट्रम्पले युक्रेनको जित चाहन्छन् वा चाहँदैनन् भन्न अस्वीकार गरेका छन्। र, युद्ध अन्त्य गर्ने कुनै रणनीति सार्वजनिकसमेत गरेका छैनन्। उनका सहयोगी जेडी भान्सले चारैतिर असैन्यीकृत क्षेत्र स्थापना गर्ने गरी वर्तमान सीमामा युद्धविराम गर्न वकालत गरेका छन्। ट्रम्पको योजनाले किएभलाई क्रेमलिनको इच्छाअनुसार नाटोमा सामेल हुने आकांक्षा त्याग्न दबाब दिनेछ। यसले युक्रेनलाई थप आक्रमणको जोखिममा पार्नेछ।
प्रतिक्रिया