आँखा पाक्ने रोगका बिरामी बढे, २ विद्यालय बन्द

आँखा पाक्ने रोगका बिरामी बढे, २ विद्यालय बन्द


तनहुँ ।

दमौली अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको संख्या बढ्न थालेको छ ।

३ दिनको अवधिमा ५२ जना आँखा पाक्ने रोगका बिरामी उपचारका लागि आएको अस्पतालले जनाएको छ ।

गत बिहीबार १४, शुक्रबार १३ र आइतबार २५ जना गरी ५२ जना बिरामी आँखा पाक्ने रोगबाट संक्रमित भएको दमौली अस्पतालका नेत्र सहायक लक्ष्मी चौधरीले जानकारी दिइन् ।

यसअघि दिनमा ३÷४ जना आँखा पाक्ने समस्याका बिरामी आउने गरे पनि ३ दिनदेखि संख्या बढेको हो भने आँखा उपचारमा आउने बिरामीमध्ये झन्डै ५० प्रतिशत आँखा पाक्ने रोगका संक्रमित हुने गरेको उनले बताइन् ।

मुख्य गरेर एडिनो भाइरसका कारण आँखा पाक्ने प्रकोप बढेको पाइएको छ । सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने, आँखा रातो हुने, आँखामा कचेरा लाग्ने, आँशु बगिरहने र घाम वा उज्यालोमा हेर्न अप्ठयारो हुने यस रोगको मुख्य लक्षण भएको चिकित्सकहरुले बताएका छन् ।

एक हप्तादेखि बढीमा दुई हप्ताभित्र यो रोग निको हुन्छ । यो रोग लागेमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ, सतर्कता अपनाउन जरुरी हुन्छ ।

उपचारमा आउने बिरामीको लक्षणका आधारमा औषधि दिई आराम गर्न बिरामीलाई सल्लाह दिइने गरिएको छ । चिसो बरफले आँखा सेक्ने, घाममा नहिँड्ने, भीडभाडमा नजाने र हिँड्डुल गर्नुपरेमा कालो चश्मा लगाएर हिँड्नेलगायतका सुझाव दिइएको छ । आँखा पाकेका बिरामीको आँशुबाट यो रोग सर्ने भएकाले घरपरिवारका अन्य सदस्यले बिरामीले प्रयोग गर्ने रुमाल प्रयोग नगर्ने, साबुन पानीले समय समयमा हात धोएर सतर्कता अपनाउन चिकित्सकले बताएका छन् ।

२ विद्यालय बन्द

त्यसैगरी आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि जिल्लाका दुई विद्यालयमा पठनपाठन बन्द गरिएको छ । शुक्लागण्डकी नगरपालिकास्थित खैरेनी माध्यमिक विद्यालय र पञ्चमुनिदेव माध्यमिक विद्यालय बन्द गरिएको हो ।

खैरेनीटार माध्यमिक विद्यालय साउन आजदेखि यही साउन २४ गतेसम्म बन्द गर्ने निर्णय गरिएको विद्यालयका सहायक प्रधानाध्यापक मोहनप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार वर्षे बिदाबाट कट्टा गर्नेगरी विद्यालय बन्द गर्ने निर्णय भएअनुरुप बन्द गरिएको सो विद्यालयले जनाएको छ ।

त्यसैगरी पञ्चमुनि माध्यमिक विद्यालयले साउन १९ गतेदेखि २३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । साउन २४ गते विद्यालय संचालन गर्ने कि नगर्ने विषयमा संक्रमण नरोकिए पुनः सूचना जारी गरी विद्यालय बन्द गर्न सकिने सो विद्यालयले जनाएको छ ।