काठमाडौँ – राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य सिफारिस भएका छन् । यस्तै, आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम नियुक्तिका लागि सिफारिस भएको छ ।
सोमबार बसेको बैठकले प्रमुख र सूचना आयुक्तहरूको नाम सिफारिस गरेको हो । डा. आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् ।
यस्तै, विष्ट प्रेस चौतारी नेपालको पूर्वअध्यक्ष हुन् भने अर्का सदस्य भण्डारी यसअघि प्रेस काउन्सिल नेपालको सदस्य थिइन् ।
ऐनको दफा ११ अनुसार उपदफा ३ अनुसार प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदमा नियुक्तिका लागि सिफारिस गर्न सभामुख देवराज घिमिरेको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति रहने व्यवस्था छ ।
यही व्यवस्था अनुसार सिफारिस समितिले उनीहरूको नाम प्रस्ताव गरेको हो । जसलाई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ खुवाउने कानुनी व्यवस्था छ ।
समितिको सदस्य सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ र नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी छन् ।
प्रतिक्रिया