कांग्रेस सभापति देउवा एक साताका लागि भोलि डडेल्धुरा जाँदै

कांग्रेस सभापति देउवा एक साताका लागि भोलि डडेल्धुरा जाँदै


काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा भ्रमणमा जाने भएका छन् । उनी आइतबार बिहान एकसाता लामो भ्रमणका लागि डडेल्धुरा जान लागेका हुन् ।

कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका अनुसार सभापति देउवा आइतबार बिहान १० बजे काठमाडौंबाट डडेल्धुराका लागि प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

प्रदेश कार्यसमितिका कार्यबाहक सभापति लोकराज अवस्थीले विज्ञप्तिमार्फत् देउवाको स्वागतका लागि गेटा विमानस्थलमा उपस्थित हुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।

सभापति देउवा कात्तिक २६ गते (सोमबार) डडेल्धुराको आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुने कांग्रेस डडेल्धुराले जनाएको छ ।

जिल्ला सभापति भीमबहादुर साउदले सभापति देउवा कात्तिक २७ गते गन्यापधुरा गाउँपालिकाको बडाल जाँत (जात्रा) मा सहभागी हुने कार्यक्रम रहेको जानकारी दिए ।

उनका अनुसार देउवाले कात्तिक २८ गते पालिकास्तरीय भेटघाट र २९ गते कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ ।

सभापति देउवा कात्तिक ३० गते गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा आयोजना हुने कार्यक्रममा सहभागी हुने छन् । यो पालिकामा नै उनको मतदाता नामावली रहेको छ ।

जिल्ला सभापति साउदले पूर्वप्रधानमन्त्री देउवा मंसिर १ गते डडेल्धुराको प्रख्यात उग्रतारा मेलामा सहभागी हुने कार्यक्रम तय भएको पनि जानकारी दिए ।

कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतका अनुसार डडेल्धुराबाट फर्किए पछि सभापति देउवाले मंसिर २ गते कैलालीको चौमाला बहुमुखी क्याम्पसको भवन उद्‌घाटन गर्ने छन् ।