काठमाडौं – सरकारले १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापनक कार्यालयले भोलि बुधबार सो रकम बराबरको सार्वजनिक ऋण लिने गरी सूचना निकालेको हो ।
आन्तरिक ऋण उठाउने सरकारले विकास ऋणपत्र २०८७ नामको ऋणपत्र जारी गर्दैछ ।
सरकारले ६ वर्ष अवधिका लागि लिन लागेको ऋण बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, अन्य संगठीत संस्था र नेपाली नागरिकले दिन पाउनेछन् । सरकारले लिने यो ऋणको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ ।
सरकारलाई ऋण दिन चाहनेले बुधबार बिहान १० बजेदेखि २ बजेसम्म कार्यालयको अनलाइन प्रणालीमार्फत् कबोल पेश गर्न सक्नेछन् ।
यसरी ऋणपत्र बिहीबार निष्काशन हुनेछ । संस्था वा व्यक्तिले खरिद गरेको ऋणपत्रको ब्याज भुक्तानी ६–६ महिनामा हुनेछ भने ६ वर्षपछि अर्थात् २०८७ कात्तिक २९ गतेमात्र सावाँ भुक्तानी हुनेछ ।
सरकारलाई दिएको यो ऋणको प्रमाणपत्र अर्थात् ऋणपत्र धितोमा राखी कर्जा लिन दिन पाइनेछ भने धितोपत्रको दोस्रो बजारमा पनि खरिदबिक्री हुनेछ ।
१० अर्ब ऋणमध्ये साढे ८ अर्ब रुपैयाँ प्रतिस्पर्धी र डेढ अर्ब रुपैयाँ अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको छ ।
इच्छुक संस्था तथा नेपाली नागरिकले घटीमा ५ लाख र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ ५ लाखले निःशेष भाग जाने रकम बराबरको ऋणपत्र किन्न पाउनेछन् ।
चालु आर्थिक वर्षको हालसम्म सरकारले १ खर्ब ३९ रुपैयाँबराबरको आन्तरिक ऋण लिइसकेको छ । जसमध्ये ८० अर्बको विकास ऋणपत्र हो भने ४९ अर्बको ट्रेजरी बिल्स हुन् । यस आवमा सरकारले ३ खर्ब ३० अर्बको आन्तरिक ऋण लिने लक्ष्य लिएको छ ।
बुधबार जारी हुनेसमेत सरकारले लिएको आन्तरिक ऋणको आकार १ खर्ब ४९ अर्ब पुग्नेछ ।
प्रतिक्रिया