विद्युतको बक्यौता कानुनअनुसार कुनै पनि हालतमा उठाउँछु: कुलमान

विद्युतको बक्यौता कानुनअनुसार कुनै पनि हालतमा उठाउँछु: कुलमान


काठमाडौं – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कुनै पनि हालतमा विद्युतको बक्यौता उठाउने बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले कुनै पनि हालतमा कानुनअनुसार बक्यौता उठाउने दाबी गरेका हुन् । ‘कुनै पनि हालतमा कानुनअनुसार बक्यौता उठाउछु । विचलित हुनेछैन् । उच्च मनोबलका साथ अघि बढ्छु,’ उनले भने ।

घिसिङले १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरुको लाइन काट्ने चेतावनी दिए ।

‘बक्यौता नतिरे हामी आफ्नो प्रक्रियामा लाग्छौं । सरकारले पनि १५ दिनभित्र असुलउपर गर्नु भनेको छ,’ उनले भने ।

घिसिङले उद्योगीले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा राजनीति गरेको आरोप लगाए ।

‘सधै बक्यौता तिर्ने तिरभन्दा झन् झन् विवादित बनाउने र बढी राजनीति गर्ने काम गरिरहनु भएको छ । जुन बेला लाइन काटिन्छ । उद्योगहरुले जति पनि उत्पादन गरेको हुन्छ । एक महिनालाई पुग्ने हुन्छ । सामानहरु बिक्री नभएसम्म लाइन जोड्न अघि आउनुहुन्न,’ उनले भने, ‘१०/१५ दिन भएपछि बेरोजगारी बढायो । आर्थिक स्थिति तहनसह गर्‍यो भन्दै इमोसनल ब्ल्याकमेलिङ गरेर सरकारलाई केहि न केहि निर्णय गराउन बाध्य हुन्छ ।’

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्नै २४ घण्टाभित्र काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गर्‍यो । उक्त निर्णयपछि मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको छ । उक्त निर्णय अनुसार प्राधिकरणले उद्योगमा लाइन जोड्न थालेको छ ।