मुगु ।
मुगुम कार्मारोङ गाउँपालिका पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढाको सात महिनाको गर्भ छ ।
उनको नाकभित्र मासु पलाएर सास फेर्न गारो भएपछि उपचारका लागि नेपालगञ्ज जान रारा विमानस्थल आएको ६ दिन भयो । गाउँपालिकाले उनलाई २० दिनको मात्र बिदा दिएको छ । पाँच दिन रारा विमानस्थलमा सकिसकेको छ । जहाजको पर्खाइमा बस्दा बस्दै उपचार गर्न नपाई सबै बिदा विमानस्थल सकिने चिन्ता लागेको बुढाले गुनासो गरिन् ।
कर्णालीका दूर्गम जिल्लाहरुमा १२ बजेपछि हवाई जहाजमा उडानमा रोक लगाएपछि यति बेला कर्णालीका नागरिकहरुले सास्ती खेपिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ साउनबाट दूर्गम स्थानका विमान स्थलहरुमा दिउँसो १२ बजेदेखि उडान गर्न रोक लगाउने निर्णय गरेपछि मुगु, हुम्ला , डोल्पा, जुम्लाका यात्रुहरुले सास्ती खेप्नु परेको हो ।
बर्षातका समयमा हवाइ दुर्घटना हुन सक्ने भन्दै प्राधिकरणले १४ साउन दिउँसो १२ बजेबाट लागु हुने गरी तीन महिनासम्म उडानमा रोक लगाउने निर्णयले यहाँका नागरिक मर्कामा परेका हुन् । नेपालगञ्जबाट दैनिक उडान भर्दै आएका मुगुको रारा विमानस्थल, डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमिकोट विमानस्थल र बाजुरालगायत अन्य जिल्लाका यात्रुहरु मर्कामा परेका छन् ।
रारा विमानस्थलमा हवाइ उडान नभएको एक हप्ता हुन लाग्यो । हवाइ यात्राबाट नेपालगञ्ज पुग्ने यात्रुहरु रारा विमानस्थलमा जहाजको पर्खाइमा ताल्चामै बस्ने गरेका छन् । बिहान मौसम नखुले पनि दिउँसो १२ बजेपछी आकास खुल्ला हुन्छ । तर, नागरिक उड्डयन प्राधिकरणको निर्णयले १२ बजेपछि उडान गर्न मिल्दैन । तारा एयरलाइन्स नेपालगञ्ज जाने ४३ जना यात्रुहरु हातमा टिकट लिएर विमान स्थलमा जहाजको पर्खाईमा बसेका छन् ।
प्रत्येक दिन १२ बजेपछि रारा विमानस्थलको मौसम सफा भए पनि ३ महिनासम्म १२ बजेपछि उडान भर्न रोक लगाएसँगै सबैभन्दा बढी बिरामीहरु मर्कामा परेको हेमन रारा टा«भल्सका बजार ब्यवस्थापक सोभबहादुर भामले बताए ।
दिउँसो १२ बजेभन्दा पछी उडान रोक गर्ने प्राधिकरणको निर्णय हुनुभन्दा पहिला रारा विमान स्थलमा नेपालगञ्जबाट सिता, समिट, तारा एयरलाइन्सले दैनिक एकदेखि २ उडान भर्दै आएका थिए । नेपाल एयरलाइन्सले हप्तामा दुई दिन उडान गर्ने गरेको थियो । ६ दिनदेखि रारा विमानस्थलमा कुनै जहाजले उडान गर्न सकेका छैनन् ।
रारा विमानस्थलको मौसम १२ बजेपछि खुला हुने गर्छ । प्राधिकरणको निर्णयले १२ः ३० भित्र जहाज उडिसक्नुपर्ने हुन्छ । रारा विमानस्थलको लागि यो निर्णय उपयुक्त नभएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाका प्रमुख रोमान भट्टराईले बताए ।
लामो समय जहाज उडान नहुँदा सडक यातायातमार्फत् आफनो गन्तव्यमा पुग्ने भए पनि बर्षातको समय पहिरोले ठाउँ ठाउँमा अवरुद्ध हुने भएका कारणले सबैजना जहाजको पर्खाइमा हुन्छन् ।
कुनै बिरामीलाई तत्कालै उद्धार गरेर हेलिकप्टर वा जहाजबाट सुबिधा सम्पन्न स्थान लैजानुपर्ने हुन्छ । तर, प्राधिकरणको निर्णयले सर्वसाधरण मर्कामा परेको छाँयानाथ रारा—१० का दीर्घ बुढाले बताए ।
प्रतिक्रिया