काठमाडौँ । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई उच्च रक्तचापको समस्या रहेकोले स्वास्थ्योपचारका लागि आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेले लामिछानेको आज ४ दिन म्याद थप गर्ने क्रममा सो आदेश दिएका हुन् ।
लामिछानेसँगै पूर्व डिआइजी छविलाल जोशीको हकमा पनि सोही आदेश दिइएको छ ।
अदालतले भनेको छ, ‘प्रतिवादीहरू रवि लामिछाने र छविलाल जोशीको उच्च रक्तचापको समस्या रहेको भन्ने देखिएको हुँदा चिकित्सकबाट जाँच तथा आवश्यक उपचार गराइ उपचारसँग सम्बन्धित कागजातको प्रतिलिपि यस अदालतमा पेश गर्नु र अनुसन्धानका क्रममा हिरासतमा राख्नका लागि म्याद थप गरिएका व्यक्तिहरूको मानवअधिकारको उल्लंघन हुने कुनै कार्य नगर्नु, नगराउनु भनी जिल्ला प्रहरी कार्यालय कास्कीलाई लेखि पठाउनु ।’
अदालतले लामिछाने र जोशीसँगै लीला पछाई, रामबहादुर खना, र कृष्णबहादुर गुरुङलाई पनि एउटै कसुरमा थप चार दिन थुनामा राख्ने गरी अनुमति दिएको छ ।
प्रतिक्रिया