काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौंका ओपनर स्टेफेन इस्किनाजीले अर्थशतक पूरा गरे । उनले ३४ बलमा ६० रन बनाएर आउट भए । काठमाडौंका लागि स्टेफेन र माइकल लेभिटले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । लेभिटले ३२ रन बनाए । भीम सार्की २२, कप्तान करण केसी १ रनमा आउट हुँदा गेरहार्ड इरास्मस २५ रनमा अविजित रहे । बलिङमा पोखराका विपिन खत्रीले ३ र माइकल लिस्कले एक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनाएको थियो । पोखराका लागि रेमन्ड रिफरले सर्वाधिक ४१ रन बनाउँदा दिनेश खरेलले ३८ रनको योगदान दिए । दिलिप नाथ २७ र कप्तान कुशल भुर्तेल ७ रनमा आउट भए । काठमाडौंका लागि कप्तान करण केसी र रसिद खानले समान ३–३ विकेट लिए । गेरहार्ड इरास्मसले एक विकेट लिन सफल भए ।
प्रतिक्रिया