काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय व्यक्त गरेको छ ।
प्रहरीले उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो असुल गर्नुपर्ने राय प्रहरीको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ५१ मध्ये ३७ जना फरार रहेका छन् । उनीहरूलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ ।
प्रतिवादीहरू सहकारीका सञ्चालक समितिका पदाधिकारी एवं सदस्यदेखि सहकारीको रकम अवैधानिक रूपमा लगानी भएका कम्पनीका सञ्चालकसम्म छन् । पूर्वडीआईजी छविलाल जोशीदेखि बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली समेत छन् । नेपाली बागलुङ र पोखरामा रहेको इमेज सहकारीको बचत अपचलनको अभियोगमा पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा छन् ।
जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययनको क्रममा रहेको बताएको छ ।
प्रतिक्रिया