रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीद्वारा अनुमती माग

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीद्वारा अनुमती माग


काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति माग गरिएको छ।

मंगलबार अदालतमा उपस्थित गराइएका लामिछानेमाथि थप चार दिन म्याद थप गर्न माग गरिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

प्रहरीले गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेसहित पूर्व उपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीबी राईका सहयोगी लिला पछाईंलाई म्याद थपका लागि अदालतमा पेश गरेको छ। तर, अदालतले म्याद थपबारे निर्णय लिन बाँकी नै रहेको छ।

यसअघि, सोमबार प्रहरीले सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। अनुसन्धान थालेको ८४ दिनपछि बुझाइएको उक्त प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ। तीमध्ये ३७ जना फरार रहेको जनाइएको छ। प्रहरीले उनीहरूविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गरेको छ।

प्रतिनिधिसभा सदस्य सूर्य थापा नेतृत्वको संसदीय समितिको प्रतिवेदनले रवि लामिछानेसहित गोर्खा मिडिया र सहकारी संस्थाहरूबीचको अपचलनमा संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो। सोही आधारमा अनुसन्धान अघि बढाइएको हो।

छविलाल जोशीलाई ६ असोजमा पक्राउ गरिएको थियो भने रवि लामिछानेलाई २ कात्तिकमा पक्राउ गरिएको थियो।