काठमाडाैँ ।
नेपालमा अहिले धेरै समाचार बन्ने मुख्य विषय हाे- पुल । परम्परागत र जाेखिमयुक्त तुइन विस्थापन गरी झाेलुंगे र माेटरेबल पुल त धेरै नेताले आफ्नाे चुनावी एजेन्डा नै बनाए/बनाइरहेकै छन् ।
पहिले-पहिले नेपालका दुर्गम गाउँहरूमा बाँस वा काठका फड्के बनाएर खोला तर्ने गरिन्थ्यो । स्थानीय कामीहरू भएको ठाउँ तथा नजिकै खानी भएका ठाउँमा फलामे साङ्लाका झोलुंगे पुल बनाइन्थ्यो । चुना सुर्कीको जोडाइबाट पक्की पुलहरू भने काठमाडौँ उपत्यका तथा काठमाडौँ उपत्यकासँग तराई जोड्ने बाटोमा पर्ने स्थानहरूमा बनाइएको थियो । अन्यत्र खासै बलिया पुल बनाएको इतिहास भेटिँदैन ।
नेपालमा पक्की पुलको इतिहास खोज्ने क्रममा भीमसेन थापाको पालामा बनेको थापाथलीको बाग्मती नदीमाथि बनाइएको काठे पुललाई पहिलाे पुलका रूपमा लिने गरिन्छ ।
१८६८ सालमा बनाइएको थापाथली-कुपण्डोलबीचको बाग्मती नदीको पुल नै नेपालको पहिलो पक्की लामो पुल हो । इँटामा चुना सुर्कीको जोडाइबाट खोलाको बीचबीचमा पिलर उठाएर बनाइएको काठे पुललाई चन्द्रशम्शेरले ११६ वर्षपछि विस्थापित गराई काठको ठाउँमा स्टिलका बिमहरू राखेर पुल बनाएका थिए ।
बहुलट्ठी स्वभावका राजा रणबहादुर शाहले जेठी रानीबाट रोलक्रमअनुसार राजा बन्न योग्य छोरा जन्म भइसक्दा पनि जनकपुर नजिकैका मैथिली ब्राम्हण परिवारकी विधवा महिला कान्तावती देवी पशुपतिनाथ दर्शन गर्न आउँदा देखेपछि उनको प्रेममा पागल भएर बिबाह प्रस्ताव राखेका थिए । कान्तावतीले आफ्नो कोखबाट जन्मने छोरालाई राजा बनाउने भए मात्र बिवाह गर्न राजी हुने भनेपछि सर्त मञ्जुर गरी विवाह गरेका थिए ।
यस्तै भीमसेन थापाकी भतिजी तथा माथवरसिंह थापाकी दिदी ललित त्रिपुरासुन्दरीसँग पनि रणबहादुर शाहले विवाह गरेका थिए । उनी रणबहादुरकी चौथी रानी थिइन् ।
रानी ललित त्रिपुरासुन्दरीमा राजकाज तथा विकास निर्माणमा समेत विशेष रुचि भएको हुँदा राजाले विकास निर्माण तथा मन्दिर/घाटहरूको निर्माण पनि गराएका थिए । उनले त्रिपुरेश्वर महादेव मन्दिर बनाएका थिए । जुन मन्दिरको नामबाट नै आजको त्रिपुरेश्वरको नामकरण भएको हो ।
धरहरा पनि उनले नै बनाउन लगाएका थिए । धरहरा नजिकै रहेको सुन्धारा पनि उनलै बनाउन लगाएका थिए । साथै ललित त्रिपुरासुन्दरी नेपालको इतिहासमा पहिलो महिला साहित्यकार पनि हुन् । उनले १८८१ सालमा ‘राजधर्म’ नामक पुस्तक संस्कृतबाट अनुवाद गरेर लेखेकी थिइन् ।
बाग्मतीमा पुल नहुँदा काठमाडौँ तथा पाटनका जनताका लागि आवतजावत गर्न निकै कठिन भएको देखेर रानी ललित त्रिपुरासुन्दरीले बाग्मतीमा पुल हाल्नेबारेमा सल्लाह गरेकी थिइन् । त्यसबेला मुख्तियार रहेका जनरल भीमसेन थापाले सो पुल राख्ने रानीको मनसाय धेरै नै उपयुक्त रहेको भन्दै तुरुन्तै कामको थालनी गर्न लगाएका थिए ।
सो पुल निर्माणको शिलान्यास रानी स्वयंले १८६७ मार्ग शुक्ल एकादशी अर्थात् मंसिर २३ गते बिहीबारका दिन गरेकी थिइन् । पुलको लम्बाइ १३५३ हात अर्थात् ६१८.५ मिटर हुँदा पनि निर्माण कार्यमा समय लागेको थियो । पुल निर्माण थालनीको १५ महिनापछि १८६८ साल चैत्र कृष्ण सप्तमी अर्थात् फागुन २४ गते बिहीबारका दिन सम्पन्न भई उद्घाटन गरिएको थियो ।
पति राजा रणबहादुर शाहको देहावसान भइसकेको हुँदा पतिको देह मुक्तिका लागि पुलको वारिपारि धर्मशाला गुठी खेत बनाइन् भने काठमाडौँतिरको पश्चिम भागमा ढुंगा छापेर घाट पनि बनाइदिइन् । साथै पुलको वारिपारि मानव बस्तीको विकास पनि उनैले गराइन् ।
यो पुल बनाएको ११६ वर्षपछि श्री ३ चन्द्रशम्शेरले भने पक्की फलामे झोलुंगे पुल बनाएका थिए । जसलाई रातो पुल नामले चिनिन्थ्यो । समय परिवर्तनसँगै गाडी गुडाउन मिल्ने चौडा पक्की पुल बनेपछि रातो पुलको इतिहास पनि मेटियो ।
यसरी रानीले बनाएको घाटमा पछि जंगबहादुरको पालामा अझ बढी विकास गराएका थिए । उनको समयमा घाटमा भकारीहरू बनाएका थिए । घाटमा मलामी बस्न बनाइने चौतारोलाई भकारी भन्ने गरिन्छ । १ नम्बर भकारी भनेर चिनिने थापाथली नजिकैको पहिलो भकारीबाट टेकु दोभानसम्म ६६ वटा भकारी बनाइएका थिए ।
भकारी बनाउँदा ढुंगाहरू कुँदेर बनाइएका हुन्थे । घाटे भकारी भनेर चिनिने यी भकारी बस्ती विस्तारका लागि तथा पार्क निर्माणका नाममा अतिक्रमण भएर हराउँदै गए । महत्वपूर्ण ऐतिहासिक घाटे भकारीका कुँदिएका ढुंगा पनि हराउँदै गए ।
प्रतिक्रिया