काठमाडौँ- निर्माण व्यवसायीहरूले ‘कार्टेलिङ’ गरी सिमेन्टको भाउ अस्वाभाविक बढाउँदा पनि सरकार मूकदर्शक भएर बसेको आरोप लगाएका छन् ।
सिमेन्ट उद्योगीप्रति आक्रोश पोख्दै नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले सिमेन्टमा गरिएको अस्वाभाविक मूल्यवृद्धि तुरुन्त खारेज गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार जारी बैठकका निर्माण व्यवसायी महासंघ अध्यक्ष सिंहले अभाव सिर्जना गरेर सिमेन्ट, छड लगायत सामग्रीको भाउ बढाइँदा पनि सरकार मूकदर्शक भएर बसेको आरोप लगाए ।
उत्पादन कटौती गरेर मूल्य बढाइएको र अनावश्यक अभाव सिर्जना गरिएको सिंहले थप आरोप लगाए ।
उनका अनुसार केही समयअघि स्टिल उद्योगले छडको भाउ एकै चोटि बढाएर प्रतिकिलो ७६ बाट ९० रुपैयाँ पुर्याएका थिए । त्यसकारण यो अस्वाभाविक मूल्यवृद्धि तुरुन्त खारेज गरी कार्टेलिङमा संलग्न उद्योगीलाई कारबाही गराउन समितिले सरकारलाई निर्देशन दिनुपर्छ ।
तर, सिमेन्ट उत्पादक संघ अध्यक्ष ध्रुव थापाले भने निर्माण व्यवसायीको आरोपको डटेर सामना गरे ।
थापाका अनुसार सम्बन्धित निकायले उत्पादन लागतको अनुगमन गरेको छ । यसमा दूधको दूध पानीको पानी उद्योग मन्त्रालयले छुट्याउने छ ।
आजसम्म सिमेन्ट पाइए पनि अब १२ घण्टा लोडसेडिङ हुने भएपछि त्यो पनि नपाइने उनले बताए ।
बैठकमा समिति सदस्य (सांसद) रणेन्द्र बराइलीले ध्रुव (थापा) जीको धम्कीपूर्ण भाषा मान्य छैन भन्दै घाटामा सिमेन्ट बेच्न नभनेको बताए ।
अर्का सांसद डोलप्रसाद अर्यालले सिमेन्ट उद्योगीको भाषामा आपत्ति जनाए ।
अर्यालले दुवै पक्षको आरोप–प्रत्यारोप बारे समितिबाट अध्ययन गर्नुपर्ने भन्दै एक्कासि मूल्यवृद्धि किन भयो, त्यसबारे वैज्ञानिक आधार हुन सक्ने बताए ।
त्यसैगरी सांसद महेन्द्रबहादुर शाहीले मूल्यवृद्धि हुँदा ठूला आयोजनाहरूमा समस्या हुने भएकाले प्रत्येक वर्ष करको दायरा बढाउने र मूल्य पनि बढाउने हुँदा उपभोक्तालाई असहज हुने बताए ।
प्रतिक्रिया