इतिहासमा पूर्वाधार : झुलाघाटकाे पुल र नामकरण

इतिहासमा पूर्वाधार : झुलाघाटकाे पुल र नामकरण

विकास टाइम्स
36
Shares

केही वर्षअघि भारतीय एसएसबीद्वारा तुइन काटिएका कारण महाकाली नदीमा खसेर एक नेपाली युवाको मृत्युको समाचार निकै छाएको थियो । भारतीय एसएसबीका जवानहरूले फलामे आरा बोकेर हिँड्नु तथा जथाभावी बाँधिएका तुइन काट्दै हिँड्नु त्यस क्षेत्रका लागि कुनै नौलो घटना होइन ।

तुइन काटेर एसएसबीका जवान गएपछि फेरि तुइन बाँधेर यात्रा गर्न त्यहाँका जनता बाध्य भएको दशकौँ भइसकेको छ । ब्यास गाँउपालिकाका जनताका बाध्यताका कथाहरू भने कसैले कतै लेखिदिएन । आफ्नै देशमा बसेर आफ्नो गाउँबाट सदरमुकाम आउन अनधिकृत रूपमा महाकाली नदी तरेर भारतीय बाटो प्रयोग गरेर झुलाघाटबाट फेरि नेपाल प्रवेश गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।

सधैँ यसरी नै बाँधिएका तुइन काटिने भए पनि कोही तुइनमा यात्रा गरिरहेको समयमा तुइन काटिँदैनथ्यो । तुइनबाट भारतीय सीमामा प्रवेश गरेपछि एसएसबीका जवानले पिट्थे । तर, त्यस दिनको दुःखद् घटनाले तुइन तर्दै गरेका जयसिंह धामी महाकालीमा बेपत्ता हुन पुगेका थिए ।

हुन सक्छ तुइनमा कोही भएको देख्दै देखेनन् वा सधैँको अटेरीले एसएसबीका जवान बढी नै उग्र भएका पनि हुन सक्छन् । जे जस्तो कारण भए पनि मानिसको मृत्यु नै हुने गरी तुइन काटिदिनु भने भारतीय एसएसबीको ठुलो गल्ती थियो ।

यी त भए पक्की पुल वा झोलुंगे पुल नहुँदा महाकाली नदी तर्नुपर्ने बाध्यताका कुरा । तर, महाकाली नदीको झुलाघाटमा पक्की पुलको माग भएको धेरै समय भए पनि नेपाल सरकारबाट पक्की पुल बनाइदिने केवल आश्वासनबाहेक त्यहाँका जनताले अरू केही पाएनन् । साथै सुदूरपश्चिम प्रदेशका विभिन्न ग्रामीण क्षेत्रबाट सदरमुकाम आउनसमेत तुइन तथा झोलुंगे पुल बनाइएकाे छैन । जसले गर्दा भारतीय सीमा प्रवेश गरेर मात्र सदरमुकाम आउनुपर्ने बाध्यता छ ।

यदि झुलाघाटमा गाडी नै गुडाउन मिल्ने पक्की पुल हुने भए नेपालतर्फ भ्रमण गर्न आउने भारतीय पर्यटकको संख्या निकै बढ्ने थियाे । जसले गर्दा समग्र प्रदेशको नै आर्थिक समृद्धिको आधार तयार हुन्थ्याे ।

तर, अफसोच ! देशको ५ पटकसम्म प्रधानमन्त्री भइसकेका तथा ६ पटक सांसद विजयी बनेका पूर्वप्रधानमन्त्री नै यस क्षेत्रका भए पनि सुदूरपश्चिम प्रदेश विकासको नाममा निकै पछाडि छ । बैतडी जिल्लाले पनि ४ पटक प्रधानमन्त्री (लोकेन्द्रबहादुर चन्द) पाएकाे थियाे । तर, पनि केही भएन । एसियामा नै पहिलो पटक महिला मन्त्री बनेर यही जिल्लाकी द्वारिकादेवी ठकुरानीले २०१६ सालमा इतिहास बनाएकी थिइन् ।

अंग्रेजको समयमा इस्ट इन्डिया कम्पनीले बनाइदिएको महाकाली नदीको नेपाल-भारत सीमाको झुलाघाटको पुल बेलाबेलामा भारतीय पक्षले मर्मत गरिरहे पनि नेपाल सरकारले कुनै पक्की पुल बनाउने योजना नै बनाएन । २ दशकदेखि निरन्तर दबाब दिँदै आए पनि अझैसम्म कुनै पक्की पुल बनाउने योजनाको सुरुआत भएकै छैन ।

महाकालीको वारि र पारि झुलाघाटको मात्र सम्बन्ध छैन । यहाँ त समान संस्कृति मात्र होइन, रोजीरोटीका लागि पारि पुग्नेहरू पनि मनग्य छन् । साथै वारि र पारि रोटी र बेटीको सम्बन्ध पनि छ । कतिपयको पारि ससुराली छ भने कतिपयको वारि ससुराली छ ।

तर यी सम्बन्धभन्दा माथि २ देशको अन्तराष्ट्रिय सीमा हुनुको कारणले भारतीय सुरक्षाकर्मीबाट हप्की र डण्डा खानु पनि सामान्यझैँ हुने गर्छ । झुलाघाटभन्दा उत्तरमा रहेका मालघाट तथा अन्यत्रबाट तुइनमा महाकाली तर्नुलाई भारतीय एसएसबीले अनधिकृत रूपमा लिने गर्छ र प्रवेश गर्नेलाई दुःख दिने गर्छ । जसले गर्दा त्यहाँका जनता अस्थायी तुइन राख्न बाध्य हुने गर्छन् । नेपाली भूभागमा पक्की रूपले तुइनको एक छेउ बाँधिएको भए पनि भारतीय सीमामा भने रूखमा बाँधेर राखिन्थ्यो । सीमामा ड्युटीमा रहेका एसएसबीले यसरी बाँधिएकाे तुइन काट्ने गर्थे ।

झुलाघाटको इतिहास हेर्दा निकै रोचक लाग्छ । महाकाली नदी जतिसुकै भयावह भए पनि यो ठाउँमा पुगेपछि निकै साँघुरिएको थियो । यति साँघुरो थियो कि मानिसहरू जुवा बाँधिएको गोरु लिएर यस स्थानबाट महाकाली तर्थे । जसले गर्दा यो ठाउँलाई जुवाघाट भन्ने गरिन्थ्याे ।

भारतमा आएका अंग्रेजहरूको इस्ट इन्डिया कम्पनीले यस स्थानमा झुला अर्थात झोलुंगे पुल राखिदियाे । जसले गर्दा मानिसहरू झुलाघाट भन्न थाले । झोलुंगे पुल बनेपछि भारततर्फको पिथौरागढमा झुलाघाट नजिकै झुलाघाट बजार बस्यो । नेपालतर्फ पनि झुलाघाट नै भनिने गरिन्छ ।

बहादुर शाहको पश्चिम नेपालको विजय अभियानमा गढवालसम्म सीमा पुग्दा यही स्थानमा रहेको पिथौरागढमा गोर्खालीको किल्ला थियो । १८४६ सालमा वीर गोर्खालीहरूले बनाएको गोर्खा किल्ला अझै पनि पिथौरागढमा ऐतिहासिक थलोको पहिचान बनाएर बसेको छ ।

निकै लामो समयसम्म गोर्खाली फौज रहेको हुँदा यस वरपरको क्षेत्रमा नेपालीहरूको निकै बाक्लो बस्ती नै छ । पछि इस्ट इन्डिया कम्पनीसँग नेपालको हार भएपछि १८७२ मंसिर १९ मा सुगौली सन्धि भएपछि भने यो किल्ला इस्ट इन्डिया कम्पनीको मातहतमा आयो र यसको नाम लन्डन फोर्ट राखियो । जसलाई भारत स्वतन्त्र भएपछि भने पिथौरागढ किल्लाका रूपमा छ ।

इस्ट इन्डिया कम्पनीको पिथौरागढमा प्रवेशपछि महाकाली नदीमा १८८६ सालमा यो झोलुंगे पुल बनाइदिएकाे थियाे । भारतीय भाषामा झोलुंगे पुललाई झुला भनिने तथा नदीको साँघुरो भाग भएको हुँदा यहाँ घाट रहेको हुँदा यो झोलुंगे पुल तथा यो ठाउँको नाम नै झुलाघाट रहन गयो ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाअन्तर्गतको ३१५ मिटर अग्लो बाँध यदि बन्यो भने यस झुलाघाट क्षेत्र नै डुबानमा पर्न सक्छ भन्ने कारणले पनि ब्यापक विरोध भइरहेको छ । हुन त कुनै पनि बाँधले केही क्षेत्र डुबानमा पर्ने भए पनि सिंगाे बस्ती नै डुब्ने गरी आयोजना सायद बन्दैन हाेला ।