बुटवलउपमहानगरपालिकाको आगामी वर्षको बजेट: रु ३.३६ अर्ब, शिक्षा र स्वास्थ्यमा जोड

बुटवलउपमहानगरपालिकाको आगामी वर्षको बजेट: रु ३.३६ अर्ब, शिक्षा र स्वास्थ्यमा जोड


लुम्बिनी– बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु ३ अर्ब ३६ करोड १३ लाखको बजेट सार्वजनिक गरेको छ। नगरसभाको सत्रौँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत विनियोजन गरिएको छ। आन्तरिक स्रोतबाट रु ९५ करोड आय हुने अनुमान गरिएको छ।

बजेटले शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता दिएको छ। ट्राफिक व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई संलग्न गराएर पढाइसँगै रोजगार सिर्जना गर्ने कार्यक्रमका लागि रु ५० लाख छुट्याइएको छ। निजी क्षेत्रसँगको सहकार्यमा समृद्धिको परिकल्पना गर्न रु १ करोड, पर्यटन प्रवर्द्धनका लागि रु ५० लाख र सांस्कृतिक सहर बनाउन रु १ करोड १५ लाख विनियोजन भएको छ।

शिक्षातर्फ विद्यालय सुधारका लागि रु ६ करोड, ‘छोरी पढाऔँ’ कार्यक्रमका लागि रु ५० लाख, विपन्न बालबालिकाको पोसाक र शैक्षिक सुधारका लागि रु ३० लाख, डिजिटल लर्निङ र कम्प्युटर शिक्षाका लागि रु १ करोड र स्थानीय पाठ्यक्रम सुधारका लागि रु ७० लाख बजेट व्यवस्था गरिएको छ। स्वास्थ्यतर्फ ज्येष्ठ नागरिक र असहायका लागि घरदैलो स्वास्थ्य सेवा ‘बाआमासँग नगर प्रमुख’ कार्यक्रममा रु ९० लाख, महिलाहरूको क्यान्सर परीक्षणका लागि रु ३० लाख र बुटवल १३ र १७ का अस्पताल सञ्चालनका लागि रु ६० लाख छुट्याइएको छ।

नगरलाई स्वच्छ राख्न ‘मेरो टोल म सफा गर्छु’ कार्यक्रमका लागि रु ७० लाख, झुम्सा खानेपानी आयोजनाका लागि रु २ करोड, गृहिणी महिलालाई रोजगारमा जोड्न रु ३ करोड, उद्यमी महिलाका लागि रु ७० लाख, दलित समुदायको सीप विकासका लागि रु ८५ लाख, सडक सौन्दर्यीकरणका लागि रु ३ करोड, जितगढी किल्ला नजिक आरती केन्द्र निर्माणका लागि रु ५ करोड र गौशाला व्यवस्थापनका लागि रु १ करोड विनियोजन भएको छ।

कृषितर्फ किसान समूहलाई उपकरण अनुदानमा रु १ करोड, दुग्ध उत्पादकलाई प्रोत्साहन अनुदानमा रु ५० लाख र रात्रीकालीन बजार सञ्चालनका लागि रु ५० लाख छुट्याइएको छ। अव्यवस्थित बसोबास र सुकुम्बासी क्षेत्रको नापजाँचका लागि रु १ करोड ५० लाख र पुनः नापीका लागि रु २ करोड विनियोजन भएको छ।

नगरप्रमुख खेलराज पाण्डेयले शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिमा आधारित नीति तथा कार्यक्रमले जनशक्ति उत्पादन र खपतमा जोड दिएको बताए। ‘घुमौँ बुटवल’ अभियानअन्तर्गत भ्रमण वर्ष घोषणा गरी पर्यटक आकर्षित गर्ने योजना रहेको उनले उल्लेख गरे।