सरकारको किसानप्रति गलत सोच : डा.कोइराला

सरकारको किसानप्रति गलत सोच : डा.कोइराला


काठमाडौँ- नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले सरकारको किसानप्रति गलत सोच रहेको आरोप लगाएका छन्। शनिबार काठमाडौँमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौती गरेकोमा आपत्ति जनाए।

कोइरालाले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै भने, “हामीले हाइड्रोपावर र कृषिमा ध्यान दिनुपर्छ। सामान्य खेतीले मात्र पुग्दैन। म आफैँ २० बिगाहमा उखु खेती गर्छु, तर सरकारले २५ वर्षदेखि दिँदै आएको उखु किसानको अनुदान यस पटक कटौती गरेको छ। डेढ अर्ब रुपैयाँले पुग्ने यो अनुदान रोक्नु गलत छ। मन्त्रीहरूको विदेश भ्रमणमा दुई-चार पटक कटौती गरे मात्रै यति रकम जुट्छ।”

उनले थपे, “नेपालमा केही हुँदैन भन्ने भाष्य बनाइएको छ, तर हामी सक्छौँ भन्ने सोच बनाउनुपर्छ। किसानलाई नयाँ दृष्टिकोणले हेर्न जरुरी छ।” कोइरालाले नेपाली काँग्रेसको नेतृत्वले छिट्टै जिम्मेवारी लिई सकारात्मक दिशामा अघि बढ्नुपर्नेमा जोड दिए।