गिरिजाप्रसादको स्मृतिमा देउवाको खुलासा : गणतन्त्रदेखि पार्टी विभाजनसम्म

गिरिजाप्रसादको स्मृतिमा देउवाको खुलासा : गणतन्त्रदेखि पार्टी विभाजनसम्म


काठमाडौ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिबार स्व. गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बिन्दास मुडमा प्रस्तुत भए। जय नेपाल फाउन्डेसनले आयोजना गरेको उक्त समारोहमा देउवाले कोइरालासँगको विगतको झगडा, पार्टी विभाजन र एकताको कथा खुलस्त सुनाए।

देउवाले आफ्नो र कोइरालाको सम्बन्धमा विगतको तिक्तता स्वीकार्दै भने, “हाम्रो बिचमा झगडा भएको यहाँहरूलाई थाहा छ। उहाँले मलाई पार्टीबाट निकाल्नुभयो, मैले अर्को पार्टी खोलेँ।” उनले हाँस्दै एक पुरानो अभिव्यक्ति सम्झिए, “मैले एकपटक भनेको थिएँ–गिरिजा र राजा एउटै हुन्। एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट।”

देउवाले तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूलाई शाही आयोग गठन गरेर जेल हालेको र पछि सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण रिटमार्फत छुटेको प्रसङ्ग पनि सुनाए। “जेलबाट छुटेपछि गिरिजाबाबु मलाई भेट्न आउनुभयो र मिलौँ भन्नुभयो। मैले भने–म त मिल्न तयार थिएँ, तपाईँले नै निकाल्नुभएको हो,” देउवाले हाँस्दै भने। त्यसपछि दुवै नेताले पार्टी एकीकरण गरेको उनले स्मरण गरे।

देउवाले कोइरालाको योगदानको चर्चा गर्दै भने, “गिरिजाप्रसाद नभएको भए नेपालमा गणतन्त्र आउने थिएन। उहाँको हिम्मत र आँटका कारण पहिलो संविधान सभाको बैठकबाटै गणतन्त्र पारित भयो।” उनले गठबन्धन संस्कृतिको विकास र जलवायु परिवर्तनमा ध्यान दिनुपर्नेमा पनि जोड दिए।

सामान्यतया छोटो बोल्ने देउवाले यो समारोहमा १२ मिनेटभन्दा लामो भाषण दिए, जुन उनको सधैंको हडबडाहटभन्दा प्रष्ट र बौद्धिक देखियो। मञ्चमा उनी मुस्कानसहित अन्य नेताहरूको भाषण सुनेर बेलाबेला टिप्पणी पनि गरिरहे।

कार्यक्रममा डा. शेखर कोइराला, गिरिजाप्रसादका भतिजा, पनि उपस्थित थिए। उनले देउवाप्रति नरम सुनिँदै भने, “सभापतिजीलाई सामाजिक सञ्जालमा गाली गरिन्छ, तर उहाँहरूले बिपीको आह्वानमा जेल, दुख र डन्डा नखाएको भए हामी यो अवस्थामा हुने थिएनौँ।” शेखरले सरकारको किसानप्रति गलत सोच रहेको भन्दै उखु किसानको अनुदान कटौतीको आलोचना गरे।

देउवाले हालै चितवनमा आफ्नो रिटायरमेन्टको उमेर पुगिसकेको बताएका थिए। उनले भने, “मेरो उद्देश्य काँग्रेसलाई बलियो र एक बनाउनु हो।” यद्यपि, उनले पार्टीभित्रको गुटबन्दी र एकअर्कालाई हराउने रोग अझै रहेको स्वीकारे।