नेता र कर्मचारीमाथि छानबिनको माग गर्दै अख्तियार र सम्पत्ति शुद्धीकरण पुग्यो राप्रपा

नेता र कर्मचारीमाथि छानबिनको माग गर्दै अख्तियार र सम्पत्ति शुद्धीकरण पुग्यो राप्रपा


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उच्च पदस्थ नेता तथा कर्मचारीहरूमाथि छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छ।

२०४६ सालपछिका उच्च पदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरिनुपर्ने र सबै भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न राप्रपाको माग छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपा नेताहरूले शुक्रबार सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारलाई ज्ञापन पत्र नै बुझाएर सम्पत्ति र सबै काण्डहरूको छानबिन गरी दोषीमाथि कारबाही माग गरेका हुन्।

‘संघ, प्रदेश र स्थानीय तहका बीच भ्रष्टाचारका लागि प्रतिस्पर्धाजस्तो देखिन्छ। अहिले भ्रष्टाचार कहाँ-कहाँ छ होइन, कहाँ चाहिँ छैन भनेर खोज्नुपर्ने परिस्थिति निर्माण भएको छ,’ राप्रपाले अख्तियारमा बुझाएको ज्ञापन पत्रमा उल्लेख छ।