“सिंगापुरे सारीमा”मा सजिएर अनुपममा भेटिन चर्चित गायिका कोमल वली (भिडियो)

“सिंगापुरे सारीमा”मा सजिएर अनुपममा भेटिन चर्चित गायिका कोमल वली (भिडियो)


काठमाडौं । चर्चित गायिका कोमल वलीको नयाँ तीज गीत “सिंगापुरे सारीमा” बिहीबार सार्वजनिक भएको छ। यादव प्रसाद पन्त र वसन्त योगीको शब्द रचना रहेको यो गीतमा कोमल वलीको सुमधुर स्वर रहेको छ। संगीत र एरेन्जमेन्ट पुष्कर सुनुवारले गरेका छन्।

लोक तथा दोहोरी गीतहरूमा निकै चर्चा कमाएकी गायिका वलीले नेपाली चलचित्रका गीतहरूमा समेत आफ्नो स्वर दिएकी छिन्। पछिल्लो समय राजनीतिमा सक्रिय रहेकी वलीले यो वर्ष “सिंगापुरे सारीमा” सहित अन्य तीज गीतहरूमा पनि आफ्नो स्वर भरेकी छिन्।

गीतको म्युजिक भिडियोमा इच्छा अधिकारी र स्वयं कोमल वलीको अभिनय रहेको छ। भिडियोको कोरियोग्राफी र निर्देशन प्रशान्त मगरले गरेका छन् भने छायांकन दिनेश पराजुलीले गरेका छन्।

गीतको शब्दमार्फत गायिका वलीले बिहे गर्ने आश अझै जीवित रहेको र भगवान् शिवजीको आराधना गरेको भाव व्यक्त गरिएको छ। भिडियोमा पनि तीजको अवसरमा शिवजीको पूजा गर्दै बिहेको लगन जुराउने अपेक्षालाई समेटिएको छ।

रचनाकार तथा प्रोड्युसर यादव प्रसाद पन्तका अनुसार यो गीत र भिडियो दंगाली गायिका कोमल वलीको बिहेको विषयलाई थिम बनाएर तयार गरिएको हो। “सात समुन्द्र पारिबाट पनि नेपाली नारीहरूको महान् पर्व तीजलाई मध्यनजर गर्दै यो गीत बजारमा ल्याएका हौँ,” पन्तले भने। “कोमल दिदीले गीतलाई उत्कृष्ट ढंगले गाउनुभएको छ र भिडियो पनि राम्रो बनेको छ। श्रोता र दर्शकले यो गीतलाई मन पराउनेमा हामी विश्वस्त छौँ।”