बर्दिबास ।
१० वर्षअघि रमेश भण्डारीले ब्याट्री उत्पादन केन्द्र खोल्दा धेरैले पत्याउनै सकेका थिएनन् । एकैपटक २ करोड रुपैयाँ लगानी गर्दा लगानी पो फस्ने हो कि ! भन्ने परिवारजनको चिन्ता त्यत्तिकै थियो ।
तर, कामप्रतिको लगाव र आत्मविश्वास हुने हो भने सफलता आफ्नै हातमा हुन्छ भन्ने उदाहरण भण्डारी आफैँ बने । परिवारभित्रको सानो सेयरबाट सुरु भएको भण्डारीको ब्याट्री फ्याक्ट्री अहिले देशमा नै चर्चित छ ।
उनले पहिलोपटक बर्दिबासमा यो फ्याक्ट्री खोल्दा बर्दिबासमा मात्र होइन, नेपालमा नै एउटै मात्र थियो । त्यसैले यो फ्याक्ट्री नेपालको पहिलो फ्याक्ट्री पनि मानिन्छ । अहिले मधेसमा उनको सिको गर्दै ७ वटा फ्याक्ट्री खुलेका छन् ।
प्रयोगविहीन ब्याट्रीहरूलाई प्रशोधन गरेर भण्डारीको यो फ्याक्ट्रीबाट निर्यात मात्र हुन्छ । वार्षिक ६० करोड रुपैयाँभन्दा बढीको ब्याट्री भारतमा मात्र निर्यात गरिने भण्डारी बताउँछन् ।
‘सीमा नाकामा कडाइ गरेर तस्करी रोक्ने हो भने हामी वार्षिक सय करोडको ब्याट्री बाहिर निर्यात गर्न सक्छौँ,’ उनले भने, ‘हाम्रो बजार भनेको अन्तर्राष्ट्रिय बजार नै हो ।’
ब्याट्री बन्ने प्रमुख स्रोत भनेको कबाडी ब्याट्री हो । यसमा देशैभरका कबाडी संकलन केन्द्रमा संकलन गरिएका पुराना ब्याट्री प्रशोधन गरिन्छ, अनि यहाँबाट निर्यात गर्ने गरिन्छ ।
ब्याट्री फ्याक्ट्रीहरूको तथ्यांकअनुसार दैनिक १०० टनभन्दा बढी कबाडी ब्याट्री संकलन हुन्छ । सोही ब्याट्री नै आफूहरूको उत्पादन केन्द्रमा आइपुग्ने भण्डारीको भनाइ छ ।
भण्डारी कसरी पनि सफल व्यवसायी मानिन्छन् भने उनी आर्थिक वर्ष २०७६/०७७ मा मधेसको नै सर्वोकृष्ट व्यापारीका रूपमा सूचीकृत भए । राज्यलाई सबैभन्दा बढी कर तिरेको भन्दै भण्डारीलाई करदाता कार्यालयले समेत उत्कृष्ट व्यवसायीका रूपमा सम्मान गरेको थियो ।
भण्डारीले ब्याट्री उत्पादन केन्द्र खोल्दा धेरैले नपत्याउनु स्वाभाविक किन पनि थियो भने कबाडीहरूले संकलन गरेको ब्याट्रीको परनिर्भरता नै उत्पादन केन्द्रको मुख्य चरित्र हो ।
फ्याँकेका काम नलाग्ने ब्याट्री खोजेर पैसा कमाउने भण्डारीको सपनामाथि तत्कालीन समयमा कतिपय मान्छेले खिसिट्युरी पनि गरे ।
तर, यही ब्याट्री उत्पादन केन्द्र नै भण्डारीको अहिले सबैथोक हो । भण्डारी आफ्नो पेसाप्रति मात्र इमानदार छैनन्, राज्यको नियमप्रति पनि त्यत्तिकै इमानदार छन् । त्यसैले त बर्सेनि भण्डारी सबैभन्दा बढी कर तिर्ने करदाताको सूचीमा पर्ने गर्छन् ।
गाउँका कुना कन्दरादेखि सहरका चोकसम्म फ्याँकिएका ब्याट्रीहरू कबाडीवालाहरूले जति बढी ल्याउँछन्, त्यति नै उत्पादनको दायरा बढ्ने गर्छ ।
‘सिमाना खुला हुँदा चाहिँ तस्करहरूको बिगबिगीले कबाडी ब्याट्री कम पाइने भएकाले उत्पादन र निर्यात कम नै हुन्छ,’ भण्डारीले भने, ‘यदि नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहिरहने हो भने हामी १ वर्षमा सय करोडभन्दा बढीको ब्याट्री निर्यात गर्छौँ ।’
अहिले मधेसमा खुलेका ब्याट्री उत्पादन केन्द्रले झन्डै ४०० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् भने भण्डारीको उत्पादन केन्द्रमा मात्र २५ जनाभन्दा बढी काम गर्छन् ।
सम्भावना खोज्दै परदेश भौँतारिरहने युवाहरूका लागि भण्डारी प्रेरणादायी पात्र मात्र बनेका छैनन्, प्रचुर सम्भावना आफ्नै ठाउँमा छ भन्ने उनी गतिलो उदाहरण पनि हुन् ।
बर्दिबासमा नै जन्मे–हुर्केका भण्डारीले बर्दिबासमै सफल उद्यमी बनेर आफूलाई स्थापित गरे ।
अहिले उत्पादन केन्द्रमा भण्डारीका व्यावसायिक पार्टनर मनोज दास पनि सँगै छन् । बजार व्यवस्थापनदेखि ग्राहकसँगको सम्पर्क भण्डारी आफैँ गर्छन् भने आन्तरिक व्यवस्थापनको जिम्मेवारी मनोज दासले सम्हालेका छन् ।
भण्डारीको बुझाइमा कुनै पनि कार्य गर्न उत्तारचढाव र चुनौतीको सामना गर्नैपर्छ । तर, सकारात्मक र आशावादी भएर काम गरे अपेक्षित नतिजा हात पार्न सकिन्छ भन्ने उनलाई आफ्नै अनुभवले सिकाएको छ ।
‘जीवन सुन्दर छ । तर आत्तिनु र मात्तिनु हुँदैन,’ भण्डारी भन्छन् । सफल बन्न पारिवारिक नैतिक समर्थन र हौसला महत्वपूर्ण रहेको बताउँदै भण्डारी आफू सफल हुन पनि परिवारका हरेक सदस्यको ठुलो योगदान रहेको सम्झन्छन् ।
भण्डारीका ३ दाजुभाइमध्ये माइला भाइ कुमार र कान्छा भाइ विनोद भण्डारी पनि बर्दिबासका सफल व्यवसायी हुन् । कुमार मारुती सिमेन्टको मुख्य आधिकारिक बिक्रेता हुन् भने विनोद प्रसिद्ध सुन पसल रक्षा ज्वेलर्सका सञ्चालक तथा होटल रिसोनाका सञ्चालक हुन् ।
दाजु रमेशले आफ्नै ठाउँमा जसरी सम्भावना खोजेर आफूलाई सफल व्यवसायीका रूपमा स्थापित गरे, त्यसरी नै उनका माइला र कान्छा भाइले पनि यही सम्भावना खोजे ।
व्यवसायबाट नै आर्थिक रूपमा सम्पन्न बनेको भण्डारी परिवार अहिले मधेसमा सफल व्यवसायको पर्यायवाची बनेको छ ।
प्रतिक्रिया