काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँ २०८२ को अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। आज जारी शुभकामना सन्देशमा उहाँले विषम परिस्थितिमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढशक्ति प्रदान गरून् भन्ने कामना गर्नुभएको छ।
नेपालको बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक विविधताले नेपाली समाजमा अनुपम एकता कायम गरेको उहाँले बताउनुभयो। यो विविधताबीचको एकता नेपालीको विशेषता र पहिचान भएको र बडादसैँले समुदाय, परिवार र व्यक्तिहरूबीचको बन्धनलाई थप सुदृढ बनाउने उहाँको भनाइ छ। दसैँलाई अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा उहाँले चित्रण गर्नुभयो।
सभापति देउवाले संविधानलाई मुलुकको सर्वोच्च कानुनको रूपमा उल्लेख गर्दै कुनै पनि राजनीतिक जटिलताको समाधान संविधानभित्रै खोज्नुपर्नेमा जोड दिनुभयो। सात दशक लामो नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट निर्मित यो संविधानले मुलुकका सबै समस्याको समाधान र स्थिरता सुनिश्चित गरेको उहाँले बताउनुभयो। संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै मुलुकमा शान्ति, स्थिरता र प्रगति हासिल गर्न सकिने उहाँको विश्वास छ। भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति सभापति देउवाले गहिरो दुख व्यक्त गर्नुभएको छ।
उक्त प्रदर्शनमा युवा र सुरक्षाकर्मीले अमूल्य जीवन गुमाएका थिए। राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय, नेताहरूको निजी सम्पत्ति र सार्वजनिक संरचनामा तोडफोड, आगजनी र लुटपाट भएको थियो। यस्ता घटनालाई उहाँले नेपालको इतिहासमा अकल्पनीय र दुखद् भनेर उल्लेख गर्नुभयो। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। हिंसात्मक गतिविधिमा संलग्न आपराधिक समूहलाई कानुनी दायरामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो।
नेपालको विकास, समृद्धि र शान्तिका लागि सबैको योगदान आवश्यक रहेको बताउँदै सभापति देउवाले यो विषम परिस्थितिमा एकताबद्ध भएर संविधानको मार्गदर्शनमा अगाडि बढ्नुपर्ने बताउनुभयो। दसैँले पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र एकताको भावना अभिवृद्धि गर्ने उहाँको विश्वास छ। नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट उहाँले बडादसैँ २०८२ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। यो पर्वले नेपाली समाजमा एकता, शान्ति र समृद्धिको सन्देश फैलाउने उहाँले अपेक्षा गर्नुभएको छ।

प्रतिक्रिया