दसैँले छोएन भूमिहीनलाई

दसैँले छोएन भूमिहीनलाई


कञ्चनपुर । दसैँ घर आँगनमै आएको छ । मीठो मसिनो खाने, नयाँ लुगा लगाउने सबैलाई रहर हुन्छ । तर, कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग नजिकैको शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरमा बसोबास गर्दै आएका सुकुम्वासी (भूमिहीन) परिवारका लागि त्यो रहर केबल सपना मात्रै बनेको छ । दुई छाकको खाना जुटाउनै सङ्घर्ष भइरहेको अवस्थामा दसैँले शिविरवासीको पीडा झन् थपिदिएको छ ।

शिविरमा बस्दै आएकी ६५ वर्षीया माथुदेवी दमाईंले विगतका दु:खद् अनुभव सम्झिँदै भनिन्, “कमाइ खाने जग्गा छैन, उमेर पनि ढल्किँदै छ, सधैँ मजदुरी पाइँदैन, हप्तामा एक दिन गर्ने मजदुरीले साँझ बिहानको छाक टार्नै कठिन छ ।” “दसैँमा मीठो मसिनो खाने, नयाँ लुगा लगाउने रहर त छ एकसुको पैसो छैन आश मानेर के पो हुन्छ र हाम्रा दिन यसैगरी बित्ने भए”, उनले भनिन् ।

वनहरा शिविरमा अहिले बुढापाका, महिला र बालबालिका मात्र छन् । युवा मजदुरीका लागि भारततर्फ गएका छन् । दसैँ भए पनि फर्किएका छैनन् । शिविरवासी देउमती देवी बोहराले भनिन, “कमाई नभएकाले तिहारमा फर्किन्छु भन्ने खबर गरेका छन्, यसपालि दसैँ खल्लो हुने नै भयो ।”

शिविरका बालबालिका र वृद्ध वृद्धा बिरामी पर्दा स्वास्थ्य चौकीसम्म लैजाने मान्छेसम्म नपाइने अवस्था छ । “नयाँ लुगा किनेको वर्ष दिनभन्दा बढी भयो, मीठो मसिनो खानु त टाढाको कुरा भयो, बिहान साँझको छाक जुट्यो भने ठूलो कुरा हुन्छ”, उनले भनिन ।

वनहरा नदी किनारमा टालटुल गरेर बनाइएका झुपडीमाथि राखिएका त्रिपाल दातृ निकायले उपलब्ध गराएका हुन् । तर, त्रिपालभित्र गर्मी असह्य हुने भएकाले धेरै परिवार राति पुलमुनि सुत्न बाध्य छन् । रञ्जित रावत भन्छन्, “कोही डोरीको खटिया राखेर सुत्छौँ, कोही भुईँमै बोरी ओछ्याएर, लामखुट्टेले रातभर टोकेर निन्द्रै पर्दैन, ओढ्ने–बिछ्याउने छैन, जसोतसो रात काट्छौँ ।” दुई महिनाअघि बाढीको त्रासले राजमार्ग किनारमा सरेका परिवार फेरि पुरानै ठाउँमा फर्किएका छन् । तर, समस्या उस्तै छ । दलबहादुर बोहराले भने, “पुलमुनि सुत्दै आएको बर्सौँ भयो, तर हाम्रोबारेमा सोच्ने कोही छैन, झुल, त्रिपाल र टर्चको व्यवस्था गरिदिन वडादेखि नगरपालिकासम्म धायौँ, सुनुवाइ भएन ।”

सुरुमा जनप्रतिनिधिले समस्या समाधान गर्ने आश्वासन दिए पनि अहिले मौन बसेको शिविरवासीको गुनासो छ । “अब त माग्न जानै छाडेका छौँ”, उनीहरू भन्छन् ।

वनहरा शिविरमा बसोबास गर्ने २८ परिवारले भूमि समस्या समाधान आयोगमार्फत जग्गा र आवासका लागि निवेदन दिएका छन् । बसोबासको टुङ्गो भने लागेको छैन ।

झण्डै दुई दशकदेखि भूमिहीन परिवार वनहरामा झुपडीमा बस्दै आएका छन् । हरेक वर्षजस्तै यसपालिको दसैँले भूमिहीन परिवारको जीवनमा खुसीभन्दा पीडाको घाउ बोकेर आएको छ ।