नवरात्रको अन्तिम दिन आज : सिद्धिदात्री देवीको विशेष पूजाआराधना गरिँदै

नवरात्रको अन्तिम दिन आज : सिद्धिदात्री देवीको विशेष पूजाआराधना गरिँदै


काठमाडौँ । आश्विन शुक्ल नवमीका दिन आज नवरात्रको अन्तिम दिनका अवसरमा नवदुर्गामध्ये नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना भइरहेको छ।

वैदिक सनातन परम्पनाअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल नवमीमा देवी सिद्धिदात्रीको आराधना गर्ने चलन रहिआएको छ। मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने भएकाले उनी ‘सिद्धिदात्री’ नामले चिनिन्छिन्। सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई ‘सिद्धिदायिनी’ पनि भनिन्छ।

धार्मिक विश्वासअनुसार सिद्धिदात्री देवीको पूजाआराधना गरे मनोकामना पूरा हुने मान्यता छ। ब्रह्माजीले मार्कण्डेय ऋषिलाई दुर्गा देवीका नौ नाम बताएको प्रसङ्ग विभिन्न पुराणमा उल्लेख छ। ती नौ नाम स्मरणमात्र गर्दा पनि मानिसले कष्ट र सङ्कटबाट मुक्त हुने विश्वास गरिन्छ।

 

यस वर्ष नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार घटस्थापनासहित देवी शैलपुत्रीको पूजा गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो र पाँचौँ दिन कुष्माण्डा, छैटौँ दिन स्कन्दमाता, सातौँ दिन कात्यायनी, आठौँ दिन कालरात्रि र नवौँ दिन महागौरी देवीको विधिपूर्वक आराधना सम्पन्न गरिएको थियो। आज नवमीका दिन अन्तिम देवी सिद्धिदात्रीको विशेष पूजा आराधना गरिँदैछ।

नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठसहित पूजाआराधना गर्ने परम्परा छ। यस अवसरमा देवीको आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास गरिन्छ। पूजाबाट प्राप्त प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने शास्त्रीय विधि रहेको छ। यस वर्ष विजयादशमी असोज १६ गते बिहीबार परेको छ। साइत खोज्नेका लागि बिहान ११ः५३ उत्तम रहेको पञ्चाङ्ग समितिले जनाएको छ।

नवरात्रको अन्तिम दिन महानवमीका अवसरमा आज शक्तिपीठहरूमा भक्तजनको भीड लागेको छ। घरघरमै पनि विशेष पूजा, आराधना र बली अर्पणसहित महानवमीको दिन मनाउने परम्परा रहिआएको छ। यसरी नेपालीहरूले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन लामो बडादसैँ पर्व विशेष श्रद्धा र उत्साहका साथ मनाउने गर्छन्।