सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक मैनाली हटाएर दोहोरिएर आए ठाकुर

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक मैनाली हटाएर दोहोरिएर आए ठाकुर


काठमाडौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको सरुवा भएको छ । बहाल रहेका महानिर्देशक कृष्ण मैनालीको सरुवा गरेर सहसचिव गजेन्द्रकुमार ठाकुरलाई पठाइएको छ । अर्थ मन्त्रालयले मंगलबार विभागको महानिर्देशकको सरुवा गरी नयाँ पठाएको हो । ठाकुरले आजै विभागमा हाजिर गरिसकेका छन् ।

सरुवा भएर गएको एक महिनामै मैनालीको सरुवा भएको हो । साबिकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको विभागमा अघिल्लो सरकारले मैनालीलाई सरुवा गरेको थियो । गत १९ भदौमा मैनाली विभागको महानिर्देशक भएका थिए । तर, एक महिनामै उनको सरुवा भएको छ । उनी विभागको महानिर्देशक भएर गएको केही दिनमै जेन–जी आन्दोलन भएको थियो । त्यसयता दसैँ बिदालगायतका कारण मैनालीले १५ दिन पनि विभागमा हाजिर लगाउन पाएनन् ।

नयाँ सरकारले गत ८ असोजमा विभागलाई प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालयमातहत ल्याएको थियो । लगत्तै महानिर्देशकको पनि सरवा भएको छ ।
नयाँ महानिर्देशक ठाकुर दोहोरिएर विभागको प्रमुख बन्न आएका हुन् । ठाकुर यसअघि २१ फागुन ०७७ देखि १ असोज ०७८ मा विभागको महानिर्देशक थिए भने त्यसअघि पनि विभागको उपमहानिर्देशक थिए ।

नेपाल अहिले सम्पत्ति शुद्धीकरणको अन्तर्राष्ट्रिय निगरानीमा छ । निगरानी सूचीबाट नेपाललाई बाहिर निकाल्ने चुनौती छ । त्यसैगरी जेन–जी आन्दोलनपछिको नयाँ परिस्थितिमा दलका शीर्ष नेताहरूमाथि सरकारले छानबिन अघि बढाउने तयारी गरेको छ । यसको काम विभाग आफैँले सुरु गरेको छ । यिनै परिस्थितिका माझ महानिर्देशक परिवर्तनलाई अर्थपूर्ण मानिएको छ ।