चर्चामा ‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’ गीत

चर्चामा ‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’ गीत


कात्तिक ६ गते भाइटीकाको अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला चर्चाको शिखरमा छ । चलचित्रको सार्वजनिक गीत ‘न्यौली बनैमा’ र ट्रेलरले दर्शकहरूको मन जित्न सफल भएका छन् ।

‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ ले सामाजिक सञ्जाल र विशेषगरी टिकटकमा व्यापक लोकप्रियता बटुलिरहेको छ। सार्वजनिक भएको दुई हप्तामै यस गीतले युट्युबमा ५२ लाख ९६ हजारभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ, जसले यसको लोकप्रियता स्पष्ट पार्छ ।

प्रशान्त शिवाकोटीको शब्दरचना र संगीत रहेको यस गीतमा प्रशान्त र शान्तीश्री परियारको सुमधुर स्वर रहेको छ । सार्वजनिक गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको भूमिकामा विजय बराल र समृद्धि अर्याल छन् ।

गीतको सफलतासँगै चलचित्रको ट्रेलरले पनि दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । चलचित्रको ट्रेलरमा दयाहाङ राई र विजय बरालको टकराबलाई दर्शकले मन पराएको पाइएको छ ।

दयाहाङको फरक गेटअपसँगै दयाहाङ र विजयको अभिनयको युट्युबमा ट्रेलर हेर्ने दर्शकले तारिफ गरिरहेका छन् । एकले अर्काको अस्तित्व स्वीकार गर्न नसकेर आफ्नो अधिपत्य खडा गर्न खोज्दा दयाहाङ र विजयबीच देखिएको टकराबलाई रुचाएको पाइएको छ ।

फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् । आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।