मंसिर २०८२ मा १५औं महाधिवेशन गर्न डा कोइरालाको प्रस्ताव

मंसिर २०८२ मा १५औं महाधिवेशन गर्न डा कोइरालाको प्रस्ताव

पार्टी एकता र लोकतान्त्रिक मूल्यमा डा. कोइरालाको जोड


काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा राष्ट्रिय संकट, संविधानको रक्षा, आगामी निर्वाचन र पार्टीभित्रको एकतामा जोड दिँदै महत्वपूर्ण धारणा राख्नुभएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकमा उहाँले जेनजी आन्दोलनको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभई राज्यलाई न्याय र सुशासनको पक्षमा उभिन आग्रह गर्नुभयो । कोइरालाको मन्तव्यले कांग्रेसलाई नयाँ ऊर्जा दिने र देशको राजनीतिक दिशा निर्धारण गर्ने गरी नियमित महाधिवेशनको आवश्यकता औंल्याएको छ ।

बैठकको सुरुमा नै डा. कोइरालाले भाद्र २३–२४ को जेनजी आन्दोलनमा मारिएका अबोध युवा र कर्तव्य पालन गर्दा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो । शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्यलाभ कामना गर्नुभयो । राज्यलाई उनीहरूलाई यथोचित सुविधा र मानवीय सहयोग प्रदान गर्न ध्यानाकर्षण गराउनुभयो । साथै, राज्यको अत्यधिक बल प्रयोगबाट गुमेका होनहार युवाप्रति न्याय र दोषीमाथि कडा कारबाहीको माग गर्नुभयो । आन्दोलनको नाममा भएका तोडफोड, आगजनी, लुटपाट र हिंसालाई सभ्य समाजले स्वीकार्न नसक्ने भन्दै अपराधीहरूलाई कानुनी दण्ड दिन सरकारलाई चेतावनी दिनुभयो । लुटिएका हतियार फिर्ता र भागेका अपराधी पक्राउ नभएसम्म निर्वाचनको वातावरण नबन्ने उहाँको ठम्याइ छ ।

पार्टी सभापति शेरबहादुर देउवाको मन्तव्यलाई सारगर्भित र प्रेरणादायी भन्दै धन्यवाद ज्ञापन गर्दै कोइरालाले देशको विषम परिस्थितिमा निर्णय लिनुपर्ने बताउनुभयो । विश्व परिवेशमा दक्षिण एसियाली उथलपुथलको स्मरण गर्दै पाँच दशकअघि बीपी कोइराला र गणेशमान सिंहको स्वदेश फिर्तालाई स्मरण गर्नुभयो । अहिले फेरि क्षेत्रीय र विश्व राजनीतिमा अप्रत्याशित घटनाहरू भइरहेको भन्दै नेपालको सार्वभौमिकता र अखण्डतामा खतरा औंल्याउनुभयो ।

संविधानको प्रसंगमा उहाँले एक पुस्ताले चार आन्दोलन देखेको र सात दशकको प्रयासपछि बनेको वर्तमान संविधान अर्धमूर्छित अवस्थामा पुगेको बताउनुभयो । यो संविधानको रक्षा नै भावी दिशा निर्धारण गर्ने भन्दै घोषित निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । निर्वाचनको विकल्पले युवा पुस्ताबाट मात्र होइन, समग्र राजनीतिबाट असान्दर्भिक बनाउने चेतावनी दिनुभयो । जेनजी पुस्तासहित सबैले सरकारलाई निर्वाचनको म्यान्डेट दिएको भन्दै कांग्रेसले जनताको घरदैलोमा पुगेर साख पुनर्स्थापना गर्नुपर्ने बताउनुभयो । तर, भयरहित वातावरणका लागि सरकारले हतियार नियन्त्रण, अपराधी पक्राउ र हिंसा रोक्नुपर्ने उहाँको माग छ ।

कांग्रेसले देशको राजनीति र सामाजिक नैतिकता उकास्न नेतृत्व लिनुपर्ने भन्दै कोइरालाले लोकतान्त्रिक मूल्यलाई प्रतिष्ठाको विषय बनाउन नसक्नुको परिणाम आजको संकट भएको बताउनुभयो । नियमित अधिवेशनको पक्षमा उहाँले मंसिर २०८२ मा १५औं महाधिवेशन गर्न प्रस्ताव गर्नुभयो । अन्य दलहरू अधिवेशन प्रक्रियामा जुटिसकेको भन्दै कांग्रेसले पनि नयाँ दिशा र सम्भावना दिन सक्नुपर्नेमा जोड दिनुभयो । विशेष महाधिवेशनको हस्ताक्षर अभियानलाई ऊर्जा भर्ने प्रयास ठाने पनि नियमित अधिवेशनबाटै नेतृत्व ताजगीकरण सम्भव भएको बताउनुभयो । यसले फागुन २१ को राष्ट्रिय निर्वाचनमा कांग्रेसलाई जागृत गराउने उहाँको विश्वास छ । समयसापेक्ष परिवर्तन नभए नीति र नियतको खोटले हराउने चेतावनी दिनुभयो ।

पार्टी एकताको खाँचो औंल्याउँदै निर्णय प्रक्रियामा न्याय, पारदर्शिता र विन–विन भावना विकास गर्नुपर्ने बताउनुभयो । आपसी अविश्वासले राष्ट्रको दिशा नै जोखिममा पर्ने भन्दै एकताबद्ध र बलियो कांग्रेस आवश्यक भएको धारणा राख्नुभयो । अनुशासन समितिबाट २०७९ को गठबन्धन उल्लंघनमा कारबाही सिफारिस भएकाहरूको कारबाही फिर्ता गर्न माग गर्दै सबैलाई मुलधारमा ल्याउन आह्वान गर्नुभयो । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र भएको भन्दै पार्टीमा अपनत्व अनुभूति गराउनुपर्नेमा जोड दिनुभयो ।