नख्खु कारागारबाट फरार कैदी खाँदबारीमा पक्राउ

नख्खु कारागारबाट फरार कैदी खाँदबारीमा पक्राउ


काठमाडौँ। ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका दोषी खाँदबारी नगरपालिका–८ का २७ वर्षीय विशाल विश्वकर्मा (विवेक) लाई सङ्खुवासभामा प्रहरीले पक्राउ गरेको छ ।

उनी गत भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका थिए । फरारपछि विश्वकर्मा लामो समयदेखि लुकीछिपी बस्दै आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको विशेष टोलीले आइतबार उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख डीएसपी कुमारप्रसाद मैनालीका अनुसार विश्वकर्मालाई खाँदबारी बजार क्षेत्रबाट करिब डेढ किलोमिटर टाढा पक्राउ गरिएको हो । फरार कैदीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको डिएसपी मैनालीले बताए ।

उनका अनुसार कानुनी प्रक्रिया पूरा गरी कारागार प्रशासनसँग समन्वय गरेर विश्वकर्मालाई पुनः नख्खु कारागार पठाइने तयारी भइरहेको छ । अदालतले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेपछि विश्वकर्मा नख्खु कारागारमा कैद सजाय भोगिरहेका थिए ।