नायक सौगात मल्लले नयाँ फिल्म ‘बब डाई’ को छायांकन सुरु गरेका छन् । फिल्मको छायांकन सोमबारदेखि काठमाडौंको चन्द्रागिरीबाट सुरु गरिएको हो । आगामी डेढ महिनासम्म कीर्तिपुर र चन्द्रागिरी आसपासका क्षेत्रमा छायांकन हुने निर्माण पक्षले जनाएको छ । निर्देशक श्रेष्ठका अनुसार यो फिल्ममार्फत उनी लामो समयपछि निर्देशनमा पुनरागमन गर्दैछन् ।
सुनिल मानन्धरको निर्माणमा तयार हुँदै गरेको यस फिल्मलाई दृश्य सम्पादकसमेत रहेका निर्देशक प्रवीण श्रेष्ठले निर्देशन गर्दैछन् । मानन्धर र श्रेष्ठ यसअघि दशकअघिको हिट म्युजिकल ड्रामा ‘मोक्ष’ मा सहकार्य गरिसकेका थिए । फिल्म ‘बब डाई’ कीर्तिपुरको कथामा आधारित हुनेछ । शीर्षकबारे प्रवीण श्रेष्ठ भन्छन्, ‘खासमा बब डाई भनेको बब दाई हो । नेवारी टोनमा दाईलाई डाई भनिने भएकाले नाम त्यसरी राखेका हौं।’ यस फिल्ममा ‘बब डाई’ को मुख्य भूमिकामा सौगात मल्ल देखिनेछन् ।
कीर्तिपुरको स्थानीय परिवेश र जीवनशैली समेट्ने यो फिल्मप्रति दर्शकको उत्सुकता बढ्दै गएको छ ।फिल्ममा सौगातसँगै सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, मनोज महर्जन तथा बालकलाकार अग्रिम पण्डितको अभिनय रहनेछ ।
निर्माण पक्षमा सुनिल मानन्धरसँग राजेश घिमिरे र रोशन भट्टराई सह-निर्माताको रूपमा छन् भने रविन्द्र प्रजापती कार्यकारी निर्माता रहेका छन् ।

प्रतिक्रिया