काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीको निवासमा बरामद गरिएका मोबाइल फोन, ल्यापटप तथा अन्य इलेक्ट्रोनिक उपकरणहरू बारे अनुसन्धान भईरहेको छ । बुधबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निवासबाटै पक्राउका क्रममा ग्याजेटहरुसमेत बरामद गरेको थियो ।
अख्तियार स्रोतका अनुसार अधिकारीका शंकास्पद आर्थिक कारोबार र गतिविधिमा लामो समयदेखि निगरानी भइरहेको थियो । सोही क्रममा महत्त्वपूर्ण डिजिटल प्रमाण हुन सक्ने आशङ्कामा ती सामग्री नियन्त्रणमा लिइएको हो । अधिकारीले सुरुमा सामग्री बुझाउन आनाकानी गरे पनि अख्तियारसँगै खटिएको प्रहरी टोलीले तत्काल कब्जामा लिएको थियो । बरामद उपकरणहरू अख्तियारको आफ्नै डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा परीक्षण गरिने भएको छ ।
बुधबार नै अधिकारीलाई पक्राउ गरी विशेष अदालतमा पेस गरिएको थियो । समय अभाव देखाउँदै विशेष अदालतले उनलाई अख्तियारकै हिरासतमा राख्ने आदेश दिएको छ । शुक्रबारदेखि अधिकारी र प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीको बयान विशेष अदालतमा जारी छ ।
अख्तियारले नलिञ्चोक हेलिपोर्ट, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, सिनामंगलस्थित प्राधिकरणको भवन निर्माणलगायतका परियोजनामा भएको अनियमितता तथा भ्रष्टाचारको आरोपमा अनुसन्धान अघि बढाएको छ ।
यसबाहेक अधिकारीले विभिन्न व्यक्तिलाई रकम बाँडेको, अनुसन्धानलाई प्रभावित पार्न शक्तिकेन्द्र र बिचौलिया परिचालन गरेको सूचनाका आधारमा पनि बैंक खाता र कारोबारको गहनानुसन्धान भइरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया