‘तरङ्ग’को लिदा रोलमा बरुण अधिकारीको इन्ट्री

‘तरङ्ग’को लिदा रोलमा बरुण अधिकारीको इन्ट्री


अभिनेता प्रदीपकुमार चौधरीको डेब्यू निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘तरङ्ग’ मार्फत मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारीले ठूलो पर्दामा डेब्यू गर्न लागेका हुन् ।

एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका बरुण अब पहिलोपटक फीचर फिल्ममार्फत दर्शकमाझ आउन लागेसँगै उत्साहित देखिएका छन् ।

फिल्मको कथा, पात्र र निर्देशकको विश्वासले आफूलाई ‘तरंग’मा जोडिएको बरुणले बताए । “मेरो भूमिका शक्तिशाली छ। टिमको भरोसा मिहिनेतले उतार्नेछु,” उनले भने ।

यो चलचित्रको पटकथा लेखन पनि निर्देशक चौधरी स्वयंकै रहेको छ । फिल्म मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको निर्माता सुजन राई र तर्कराज जोशी रहेका छन् ।

‘सुपरन्याचुरल लभस्टोरी’ जनरामा तयार हुने ‘तरंग’ को छायांकन इटहरी, धरान, बेलबारी, चतरा, चितवन, बुटवल, पोखरा र भेडेटारलगायत स्थानमा हुनेछ । चलचित्रका छायाकार महेश पौडेल रहेका छन् भने निर्माण नियन्त्रकको भूमिकामा रिजन परियार छन् ।

यो सिनेमाको छायांकन केही दिनदेखि बेलबारीमा भइरहेको छ । करिब २ करोड रुपैयाँ बजेटमा तयार हुन लागिरहेको चलचित्रको मुख्य भूमिकामा बरुणसँगै रविना केसी, बारत लिम्बु, कृष्ण थापा, सारा राई, उजल राई र उत्तम गुरुङ लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

खलनायकका विविध भूमिकाबाट पहिचान बनाएका निर्देशक चौधरी लामो समयदेखि मण्डला नाटकघरसँग आबद्ध छन् । उनी पछिल्लो पटक चलचित्र ‘वरिष्ठ बलराम’ मा देखिएका थिए । यो सिनेमालाई २०२६ भित्र रिलिज गरिने निर्माणपक्षले बताएको छ ।