काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको बताएका छन् ।
लैंगीक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा सञ्चारिका समूहले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले मुलुकमा सुशासन कायम हुनुपर्ने जने जेड आन्दोलनको प्रमुख मुद्दा भएको भन्दै भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको बताएका हुन् ।
त्यसैको परिणाम पछिल्लो दुई महिनामा २५ भन्दा बढी ठूला भ्रष्टाचार प्रकरणमा मुद्दा दर्ता समेत भइसकेको उनले बताए ।
मन्त्री खरेलले सतर्कता केन्द्र, अनुसन्धान ब्युरो, अख्तियार लगायतका राज्यका निकायहरूमाथि सरकारले कुनै हस्तक्षेप नगरेको र ती निकायहरूले स्वतःस्फूर्त रूपमा प्रभावकारी ढंगले काम गरेको जिकिर गरेका छन् ।
उनले सरकारलाई निर्वाचनको जिम्मेवारी समेत तोकिएकाले समयमा नै निर्वाचन गर्नका लागि सरकारकातर्फबाट सबै तयारी गरिसकेको जानकारी दिए ।
त्यस्तै मन्त्री खरेलले कलम चलाउने पत्रकारहरूमा देशको नेतृत्व गर्ने अवसर सिर्जना भएकाले आगामी निर्वाचनमा महिला पत्रकाहरु राजनीतिमा आएर देश चलाउने आँट गर्न सुझाव समेत दिएका छन् ।

प्रतिक्रिया