मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन नभएको भन्दै अध्यक्ष मगरले जनाए असन्तुष्टि

मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन नभएको भन्दै अध्यक्ष मगरले जनाए असन्तुष्टि


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले आयोगका सिफारिसहरू अझै कार्यान्वयन नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार सिंहदरवारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले धेरै पटक आश्वासन दिएर पनि आयोगको सिफारिस कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाएका हुन् ।

अध्यक्ष मगरले आयोगको सिफारिस कार्यान्वयन गरेर पीडितलाई मानव अधिकारको प्रत्याभूति दिलाउने काम गर्न पनि सरकारलाई सचेत गराएका छन् ।

उनले पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन पनि सरकारले आयोगको सिफारिस कार्यान्वयनमा आलटाल गर्न नहुने स्पष्ट पारे । अध्यक्ष मगरले मानव अधिकारको रक्षाका लागि सरकारले भ्रष्टाचार निर्मूल पार्नका लागि पनि ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याए ।

अध्यक्ष मगरले सुशासन कमजोर भएका कारण मुलुकमा मानव अधिकार हननका घटनाहरू बढ्न गएको समेत बताए ।