काठमाडौँ। नवनियुक्त ४ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरूले शीतल निवासस्थित राष्ट्रपति भवनको परिसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रधानमन्त्री कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दा परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालय आफूसँगै राखेकी छन् ।
नवनियुक्त मन्त्रीहरूमध्ये कुमार इङ्नामले भूमि व्यवस्था, राजेन्दसिंह भण्डारीले श्रम, माधव चौलागाईले वन तथा वातावरण र श्रद्धा श्रेष्ठले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मा पाएका छन् ।
उनीहरूले आज शपथग्रहण गरेका छन् । उद्योग र कानून मन्त्रीको जिम्मा पाएका अनिल सिन्हालाई पर्यटन मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ । अन्य मन्त्रीहरूको जिम्मेवारी भने यथावत् रहेको छ । अब कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ ।

प्रतिक्रिया