काठमाडौँ। शीतलहर र बढ्दो चिसोका कारण गौरका विद्यालय चार दिन बिदा दिइएको छ ।
गौर नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूले बर्से बिदाबाट कट्टा हुने गरी आजदेखि ११ गतेसम्म पठनपाठनको कार्य बन्द गर्न गराउन सूचना जारी गरेको छ ।
चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून भएको र पठन पाठनमा पनि समस्या आएपछि पालिकाका सबै विद्यालयहरू बन्द गरिएको गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले बताएका छन् ।
अत्यधिक चिसोले गर्दा शिशु कक्षा र प्राथमिक तहका विद्यार्थीहरूको स्वास्थ्यमा असर गर्न सक्ने भएकोले विद्यालय बन्द गरिएको उनको भनाइ छ ।
नगरपालिकाले सूचना जारी गरेपछि गौर नगर प्याब्सनले पनि सबै निजी विद्यालयहरूलाई चार दिनसम्म बन्द गर्ने जनाएको छ ।
रौतहटमा बिहान बाक्लो हुस्सुसँगै शीत खस्ने र दिनभरि कुहिरो लाग्न थालेपछि चिसो बढेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले मानिसको चहलपहलमा पनि कमी आएको छ ।
बजार तथा कार्यालयहरूमा सर्वसाधारणको उपस्थिति दिउँसोतिर मात्रै हुन थालेको छ । सधैँ जसो भिडभाड हुने सरकारी कार्यालयहरूमा पनि चिसोले गर्दा सेवाग्रहीहरुको संख्यामा कमी आएको छ ।
बिहानै खुल्ने व्यापारिक पसल र बजारहरू पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्ने गरेकोले बजारहरू बेलमैमा सुनमान हुन थालेका छन् ।

प्रतिक्रिया