दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु


चितवन । मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दी का २० वर्षीय तृशल महतो रहेका छन् ।

जिला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान रत्ननगर नगरपालिका–९ टिकौली जंगल नजिक दुर्घटना भएको हो । दुर्घटना हुँदा मोटरसाइकल चालक तृशल महतो र मोटरसाइकलमा सवार १९ वर्षीय अंकित महतो घाइते भएका थिए ।

घाइते तृशलको उपचारका क्रममा सेन्ट्रल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते अंकितको सोही अस्पतालमा उपचार भइरहेको छ ।