फिल्म ‘झिँगेदाउ २’ को छायांकन यतिबेला ललितपुरको विभिन्न स्थानमा भइरहेको छ । गत मंसिरको अन्तिम साता काभ्रेको पनौतीमा शुभमुहूर्तसँगै फिल्मले छायांकन थालेको थियो । ज्ञानेन्द्र देउजा निर्देशक रहेको फिल्म तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा पनि खिचिनेछ ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, हिउँवाला गौतम, विजय देउजा, आशा भुसाल, अभयराज बराल, आशिष पुरुष लगायत कलाकारको अभिनय रहनेछ ।
‘झिँगेदाउ २’ मात्र होइन, यतिबेला ‘बाटुलो जुन’, ‘बब डाई’, ‘पेन्सर पट्टा’, ‘रोल नम्बर १’, ‘आचार्य’लगायत आधा दर्जन बढी फिल्म फ्लोरमा छन् । यीमध्ये केही छायांकनको अन्तिम चरणमा छन् भने केही भर्खर फ्लोरमा निस्किएका हुन् ।
सौगात मल्लको मुख्य भूमिका रहने ‘बब डाइ’ पनि फ्लोरमै छ । मंसिरको पहिलो साताबाट ४५ दिनको तालिकासहित छायांकनमा निस्किएको फिल्म छायांकनको अन्तिम चरणमा छ । रोटेपिङ इन्टरटेनमेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्म्सको सहकार्यमा निर्माण थालिएको फिल्ममा निर्देशक प्रविन श्रेष्ठ हुन् । यसअघि ‘मोक्ष’ फिल्म निर्देशन गरेका प्रविनले १२ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन् ।
फिल्ममा सौगात मल्ल, सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तण्डुकार, मनोज महर्जन र बाल कलाकार अग्रिम पण्डितको अभिनय देख्न सकिनेछ ।
‘बाटुलो जुन’ अनमोल केसी अभिनित फिल्म हो । गत असारमा धादिङको काउलेबाट छायांकन सुरु भएको फिल्मको यतिबेला चित्लाङमा छायांकन भइरहेको छ । फिल्ममा अनमोलको जोडीको रुपमा प्रिन्सी खतिवडा देखिँदैछिन् । जिया केसीको निर्माण रहेको फिल्म सुपरस्टार भुवन केसीले निर्देशन गरिरहेका छन् ।
अभिनेता निखिल उप्रेती निर्देशित फिल्म ‘आचार्य’ पनि अहिले फ्लोरमै छ । गत भदौबाट सुरु भएको फिल्मको छायांकन रोकिएको छ । फिल्ममा अभिनय रहने केही भारतीय कलाकारको समय अभावका कारण फिल्म रोकिएको निर्देशक निखिल उप्रेतीले बताए । फिल्म ३० प्रतिशत खिच्न बाँकी रहेको उप्रेतीले जानकारी दिए । फिल्मको अबको छायांकन सल्लाहमा हुनेछ ।
अभिनेत्री सञ्चिता लुइँटेल निर्माता रहेकी फिल्मले भारतको प्रसिद्ध पर्यटकीयस्थल ‘डुअर्स’बाट छायाङ्कन सुरु गरेको थियो । फिल्म बागडोगरा, सिलिगुडी र ठाकुरगन्ज हुँदै सर्लाही आएको हो । फिल्ममा निखिल नै प्रमुख अभिनेता रहेका छन् । निखिलका साथै सञ्चिता लुइँटेल, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया, विशाल पहारी लगायत छन् । फिल्ममा बलिउड र दक्षिण भारतीय चलचित्रहरूमा काम गरिसकेका केही चर्चित कलाकारहरूको समेत अभिनय देख्न सकिन्छ । यसै फिल्मबाट अभिनेत्री सञ्चिता लुइँटेलले कोरियोग्राफीमा पनि पाइला चाल्दैछिन् ।
‘पेन्सन पट्टा’ माओत्से गुरुङको निर्देशन बन्न लागेको फिल्म हो । अघिल्लो साता कास्कीको ताङतिङ गाउँबाट शुभमुहूर्तसहित फ्लोरमा निस्किएको फिल्मको १५ प्रतिशत मात्र छायांकन सकिएको छ ।
फिल्मका निर्माता समेत कलाकार माओत्से गुरुङ हुन् । फिल्म अझै ३० दिनसम्म कास्कीका विभिन्न स्थानमा खिचिनेछ । दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायत कलाकार फिल्ममा अभिनय गरिरहेका छन् ।
भूतपूर्व लाहुरेको कथा उठाएको फिल्म माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो । मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (युके) र सपना गुरुङले फिल्ममा लगानी गर्दैछन् ।
पुस महिना छायांकनका लागि खासै अनुकूल मानिँदैन । पुसमा दिन छोटो हुने, बिहान ढिलो घाम लाग्ने र बेलुका चाँडै अँध्यारो हुने भएकाले ‘डे–लाइट’ मा काम गर्ने समय कम हुन्छ । त्यसमा पनि पुसको चिसोमा काम गर्नु निकै कष्टकर हुन्छ । क्रु मेम्बरहरूलाई पनि चिसोमा लामो समय खटिन गाह्रो हुन्छ । कुहिरो र प्रकाशको समस्या पनि त्यस्तै रहन्छ । तैपनि हाल आधा दर्जनभन्दा बढी नेपाली फिल्महरू फ्लोरमा छन् ।
पुसमा फिल्म छायाङ्कन सहज नभएपनि बाध्यताले सुटिङ गर्नुपरेको फिल्मकर्मीहरू बताउँछन् । कलाकारको डेटको समस्या, सुटिङ लम्बिनु लगायत विभिन्न कारणले नचाहँदा नचाहँदै पुसमा क्यामेरा घुमाउनुपर्ने बाध्यता छ ।
यतिबेला ललितपुरको हरिसिद्धिमा सेट लगाएर फिल्म ‘झिँगेदाउ २’ छायांकन गरिरहेका निर्देशक ज्ञानेन्द्र देउजा चिसोका कारण काममा निकै चुनौती थपिएको बताउँछन् ।
‘जाडो छ, दिन छोटो छ, त्यसैले काम अलि थोरै–थोरै भइरहेको छ’, देउजाले अनुभव सुनाए, ‘चिसोमा कलाकारहरूलाई बिहानै काममा निकाल्न पनि उत्तिकै गाह्रो हुन्छ । छोटो दिनले गर्दा कामको आउटपुट कम निस्कने र सुटिङको दिन बढ्ने हुँदा स्वाभाविक रूपमा फिल्मको खर्च पनि बढेको छ ।’
देउजाले ‘झिँगेदाउ २’ मल्टिस्टारर कास्ट राखेर फिल्म छायांकन गरिहेका छन् । फिल्मको छायांकन करिब ४० प्रतिशत सकिएको छ । ‘गर्दै जाँदा डेटका कारण केही ढिलाइ भयो, जसले गर्दा पुसको जाडोमा काम गर्नुपर्ने अवस्था आयो’, उनले भने, ‘तर आगामी दसैंमा फिल्म रिलिज गर्ने लक्ष्यका साथ अहिले द्रुत गतिमा काम गरिरहेका छौं ।’
काठमाडौँ उपत्यका बाहिरको अवस्था झन् कष्टकर छ । कास्कीको मादी गाउँपालिका अन्तर्गत ताङतिङ गाउँमा फिल्म ‘पेन्सन पट्टा’ छायांकनमा व्यस्त निर्देशक माओत्से गुरुङ पुसको मौसम छायाङ्कनका लागि प्रतिकूल रहेको बताउँछन् ।
‘हामी जुन ठाउँमा अहिले सुटिङमा छौँ, यहाँ बिहान साढे ९ बजे मात्र घाम लाग्छ र दिउँसो साढे ३ बजे नै अस्ताउँछ । ६ दिनदेखि सुटिङ गरिरहेका गुरुङले भने, ‘काम गर्ने समय निकै कम छ । डे–लाइटको अभावले सुटिङ तालिका प्रभावित भएको छ ।’
माओत्सेका अनुसार फिल्मको कथाले मंसिरको वातावरण मागेको थियो, तर कलाकारहरूको डेट नमिलेका कारण सुटिङ पुसमा सर्यो । गुरुङका अनुसार मंसिरमा फुल्ने फूलहरू पुससम्म आइपुग्दा ओइलाउन थालिसके, जसले गर्दा पर्दामा सोचेजस्तो दृश्य देखाउन पनि चुनौती थपिएको छ । दिन छोटो हुँदा सोचेजति दृश्य खिच्न नसकिने र सुटिङको अवधि एक-दुई दिन लम्बिँदा फिल्मको बजेट पनि बढेको छ ।

प्रतिक्रिया