समन्वयबिना ठेक्का दिँदा घोडाघोडी तालका विषयमा विवाद

समन्वयबिना ठेक्का दिँदा घोडाघोडी तालका विषयमा विवाद


कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा प्रवेश शुल्क उठाउने विषयलाई लिएर विवाद चर्किँदै गएको छ । घोडाघोडी नगरपालिकाले गत भदौमा ताल क्षेत्रमा प्रवेश शुल्क संकलनका लागि बोलपत्र आह्वान गरेपछि विवाद सुरु भएको हो ।

उक्त बोलपत्र खप्तड निर्माण सेवा, बाजुराले पाएको छ । विगतदेखि ताल संरक्षणमा सक्रिय सामुदायिक वन र सरोकार भएका संघसंस्थासँग आवश्यक समन्वय नगरी नगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाएको भन्दै विवाद सिर्जना भएको हो ।

विवादका कारण ठेक्का पाएको तीन महिना बितिसक्दा पनि काम गर्न नपाएको निर्माण कम्पनीका प्रतिनिधि विक्रम रावलले गुनासो गरे । उनका अनुसार बोलपत्रबापत रु. १६ लाख ४० हजार नगरपालिकामा जम्मा गरिसकिएको अवस्थामा हालसम्म कार्यस्थलमा काम गर्ने अवस्था बनेको छैन । “आफ्नै ठाउँमा केही गर्ने उद्देश्यले लागेका हौँ, तर अहिले काम गर्न पाइएको छैन”, रावलले भने ।

घोडाघोडी ताल क्षेत्रमा प्रवेश शुल्क विगतका वर्षमा घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चले संकन गर्दै आएको थियो । त्यसपछि भने घोडाघोडी सामुदायिक वनले उक्त शुल्क संकलन गर्दै आएको छ ।

ताल क्षेत्रको संरक्षण आफूहरूले गर्दै आएकाले प्रवेश शुल्क लिने अधिकार पनि सामुदायिक वनको हुनुपर्ने आफूहरूको माग रहेको घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपक शाहले बताए । उनले सरोकार भएका निकायसँग कुनै किसिमको समन्वय नगरी नगरपालिकाले बोलपत्र आह्वान गर्न नहुने धारणा राखे ।

स्थानीय उपभोक्ताले संरक्षण गर्दै आम्दानी लिन थालेको केही समयमै स्थानीय सरकारले हस्तक्षेप गरेको भन्दै आक्रोशित बनेका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले डिभिजन वन कार्यालय पहलमानपुरमा निवेदनसमेत दिएका छन् ।

यसैबीच, नगरप्रमुख खडकबहादुर रावतले प्रवेश शुल्कसम्बन्धी विवाद समाधानका लागि सरोकार भएका निकायका प्रतिनिधिबीच छलफल भइरहेको बताए । “तीन महिना भइसक्दा पनि ठेक्का पाउनेहरूले काम गर्न पाउनुभएको छैन । सबै सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल र समन्वय गरेर विवाद समाधान गरी काम गर्ने वातावरण बनाउने छौँ”, उनले भने ।