काँग्रेसले भन्यो : ‘जेन जेड आन्दोलनमा सरकारको दमन गलत छ’

काँग्रेसले भन्यो : ‘जेन जेड आन्दोलनमा सरकारको दमन गलत छ’


काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भदौ २३ गतेको जेन जेड आन्दोलनको क्रममा राज्यसत्ताको तर्फबाट भएको दमन गलत भएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महतले यस्तो बताएका हुन् ।

‘विधिको शासन, जन अनुमोदित सरकार र स्वतन्त्र अदालत लोकतान्त्रिक व्यवस्थामा परिकल्पना गरिएको छ । यसलाई हामीले स्वीकार नगर्दा समस्या आइरहन्छ । शान्ति खलबलिन्छ । स्थायित्वको बाटो अवरुद्ध हुन्छ,’ उनले भने, ‘०४६ पछि हामीले एउटा व्यवस्था ल्यायौँ । ०६२र०६३ बाट अर्को सरकार बन्यो शान्ति स्थायित्व हुन सकेन । फेरि भदौमा २३ मा अर्को घटना घट्यो । असन्तुष्टिहरूलाई शान्तिपूर्ण तरिकाले प्रकट गर्ने र सरकारले पनि शान्तिपूर्ण तरिकाले सम्बोधन गर्न सकेन भने यस्तो अवस्था आउँछ । सुशासनको लागि आन्दोलन जायज छ तर, सरकारको तर्फबाट भएको दमन गलत छ । दोस्रो दिन जे भयो त्यो पनि गलत छ।’

उनले जेन जेड आन्दोलनका कारण देशको दुई आर्थिक वर्षको बजेट जत्तिकै क्षति भएको विवरणहरू आएको पनि सुनाएका छन् ।

‘जेनजी आन्दोलनका कारण जुनखाले असर देशलाई भयो अन्तर्राष्ट्रिय इस्टिमेटअनुसार हाम्रो २ वर्षको बजेट बराबरको खर्च भएको भनिएको छ । ठुलो पुँजी पलायन भको छ, नेपालकै पुँजी । यहीँकै पुँजी भयानक पलायन भएको छ’ उनले भने ।

महतले पुराना दलहरूले पनि कमीकमजोरी गरेको बताए । ‘राना दलले कमीकमजोरी भएको छ । यसलाई आत्मसात् गर्नुपर्छ सुधार गर्नुपर्छ दुई मत नै छैन,’ उनले भने, ‘हामीले प्रोटेस्ट गर्ने तरिकालाई पनि ध्यान दिनुपर्छ । आन्दोलनको विषयमा सरकारी संयन्त्र पनि फेल भयो । जुन आन्दोलन गर्‍यौँ भन्नेहरू हुनुहुन्छ उहाँहरू पनि अनुशासनमा बस्न सक्नु भएन। अनुशासन नहुँदा यस्तो घटना फेरि दोहोरिन्छ ।’