काठमाडौँ । वीर अस्पतालले मस्तिष्कमा भएको ठूलो रक्तस्रावको सफल शल्यक्रिया सम्पन्न गरेको छ । अस्पतालले काठमाडौँ कोटेश्वरकी १०३ वर्षीय वृद्धाको विश्वमै दुर्लभ मानिने न्युरोसर्जिकल उपलब्धि प्राप्त गरेको हो ।
वीर अस्पतालका न्युरो विभागका प्रमुख वरिष्ठ न्युरोसर्जन डा. राजीव झाका अनुसार अत्यन्तै नाजुक र उच्च उमेर हुँदाहुँदै पनि सफल मस्तिष्क शल्यक्रिया हुनु चिकित्सकीय क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हो ।
परिवारका सदस्यका अनुसार उनलाई एक महिनादेखि टाउको दुख्ने र पटक-पटक लड्ने समस्या देखिएको थियो । परिवारले सुरुमा यसलाई अत्यधिक उमेर र सामान्य कमजोरीका कारण भएको ठानेको थियो ।
तर दुई दिनसम्म लगातार बेहोस भएपछि उनलाई नजिकैको अस्पताल लगिएको थियो । त्यहाँबाट उनलाई वीर अस्पताल रेफर गरिएको थियो ।
वीर अस्पतालका अनुसार इमरजेन्सीमा आइपुग्दा उनी अचेत नै थिइन् । विस्तृत जाँच–परीक्षणपछि उनको मस्तिष्कमा धेरै ठूलो रक्तस्राव (सबडुरल ह्यामरेज) भएको पत्ता लाग्यो, जसका लागि तत्काल न्युरोसर्जिकल शल्यक्रिया आवश्यक थियो ।

प्रतिक्रिया