तेहरान । इरानले गत वर्ष कम्तीमा एक हजार ५०० जनालाई मृत्युदण्ड दिएको नर्वेस्थित इरान मानवअधिकार समूहले बिहीबार जनाएको छ ।
“यो धेरै चिन्ताजनक विषय हो,” समूहका निर्देशक महमुद अमिरी–मोगद्दामले मृत्युदण्डको सङ्ख्याको अकल्पनीय वृद्धिबारेमा भने।
उनले भने, “विगत ३५ वर्षमै भएको यो सबैभन्दा अकल्पनीय घटना हो । इरानमा मानव अधिकारको लेखाजोखा राख्न थालिएपछिको यो सङ्ख्या निकै धेरै हो ।”
इरानी मानवअधिकार समूह(आईएचआर) र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनाल्टी ९इसिपिएम०’ का अनुसार सन् २०२४ मा इरानले कम्तिमा ९७५ जनालाई मृत्युदण्ड दिएको थियो।
आइएचआरले सन् २०२५ को लागि आफ्नो अन्तिम गणना जारी गर्न बाँकी छ । कम्तिमा एक हजार ५०० मानिसहरूको मृत्यु दण्ड दिइएको र यसमध्ये ७०० भन्दा बढीलाई लागूपदार्थसँग सम्बन्धित अपराधमा मृत्युदण्ड दिइएको आइएचआरले प्रमाणित गरेको छ ।
अमिरी–मोगद्दामले भने, “देशको अनिवार्य ‘ड्रेस कोड’ उल्लङ्घनको आरोपमा पक्राउ परेकी इरानी–कुर्द महिला महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सन् २०२२ सेप्टेम्बरमा भएको विरोध प्रदर्शनपछि मृत्युदण्डको सङ्ख्या बढेको छ ।”
सन् २०२२ मा मृत्युदण्ड ५०० बाट बढेर सन् २०२३ मा ८०० भन्दा बढी पुगेको थियो भने यो सङ्ख्या सन् २०२४ मा ९७५ भएको थियो ।
इरानको आर्थिक गतिरोधप्रति असन्तुष्टि व्यक्त गर्दै इरानमा भएको प्रदर्शनको केही दिनपछि यो नयाँ तथ्यांक आएको हो।
इरानको दक्षिणपश्चिमी क्षेत्रमा बिहीबार प्रदर्शनकारी र सुरक्षा फौजबीच झडप भएको थियो र प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
“इरानी अधिकारीहरूले मृत्युदण्डलाई डर सिर्जना गर्ने साधनको रूपमा प्रयोग गर्छन्,” अमिरी-मोगद्दामले भने।
उनले भने, “यी मृत्युदण्डको उद्देश्य नयाँ प्रदर्शनहरू रोक्नु हो । तर पछिल्ला दिनहरूमा तपाईंले देख्नु भएको छ उनीहरू सफल भएका छैनन्।”
यद्यपि भर्खरका प्रदर्शनहरू सन् २०२२ को विरोध प्रदर्शनको स्तरको नजिक पुगेका छैनन् ।

प्रतिक्रिया