काठमाडौँ । राप्रपामा पनि समानुपातिक बन्द सूचीलाई लिएर विवाद देखिएको छ ।
पार्टी प्रवक्ता ज्ञानबहादुर शाहीले अध्यक्ष राजेन्द्र लिङ्देन र उपाध्यक्ष बुद्धिमान तामाङले आफू निकट र परिवारका सदस्यलाई समानुपातिक बन्द सूचीको शीर्षस्थानमा राखेको भन्दै असन्तुष्टि जनाएका छन् । त्यसलाई सच्याउनुपर्ने उनको माग छ ।
‘पार्टी उपाध्यक्ष बुद्धिमान तामाङको परिवारले २०६४ देखि २०७९ सम्म समानुपातिक र गठबन्धन गरेर त्यसको प्रत्यक्ष लाभ लिनुभएको छ । उहाँ सम्पन्न मान्छे हो तर अहिले उहाँले श्रीमतीलाई आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरमा सिफारिस गर्नुभयो । २०७९ मा पार्टी निर्णय विपरीत स्वतन्त्र उम्मेदवार बनेकी खुश्बु ओलीलाई पार्टीले पार्टीले साधारण सदस्य नरहने गरी कारबाही गरेको हो । उहाँले अहिलेसम्म एक भोट पनि राप्रपालाई दिनुभएको छैन । तर उहाँलाई खसआर्य महिला क्लस्टरको पहिलो नम्बरमा राखियो,’ शाहीको माग छ, ‘अल्पसंख्यक, विपन्न, गरिब, असहायको आवाज उठाउनेका लागि समानुपातिक व्यवस्था गरेकोमा पार्टीले दुरुपयोग गरेको छ । अब पार्टीले सूची सच्याउनपर्छ । जसका लागि यो व्यवस्था संविधानमा गरिएको छ तिनैलाई पार्टीले सिफारिस गर्नुपर्छ ।’
राप्रपा अध्यक्ष निकट एक शीर्ष नेताले भने पार्टीको केन्द्रीय कार्यसम्पादन कमिटीले सर्वसम्मतिले समानुपातिक उम्मेदवारको नाम टुंगो लगाएको हो । ‘उपाध्यक्षको श्रीमती भए पनि उहाँले २०४७ सालमा सूर्यबहादुर थापाबाट सदस्यता लिनुभएको हो । पार्टीको जिल्ला, क्षेत्र, केन्द्रका विभिन्न कमिटीमा काम गर्नुभएको थियो । अहिले पनि महाधिवेशनबाट केन्द्रीय सदस्य जित्नुभएको हो । महिला संघको पनि विभिन्न पदमा नेतृत्व गरेको हो । पार्टीको नाममा घाइते पनि भएको र हिरासतमा पनि थुनिएको हो,’ ती नेताले भने, ‘कार्यसम्पादन समितिबाट एकमत बन्द सूची पारित भएको हो । यसबारे शाहीले पनि विरोध जनाउनुभएको थिएन । अहिले संविधानले दिएको मौलिक हकको सदुपयोग गर्नुभएको होला ।’

प्रतिक्रिया