काठमाडौँ । काठमाडौँ महानगरपालिका-८ ले रु १५० मै एक्स-रे सेवा सुरु गरेको छ ।
जयबागीश्वरीस्थित वडा कार्यालय परिसरमा स्थापना गरिएको एक्स-रे कक्षको उद्घाटन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र वडाध्यक्ष एवं कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले संयुक्त रूपमा सेवा प्रारम्भ गरेका हुन् ।
उक्त सेवा सञ्चालनका लागि रु ३२ लाखमा अत्याधुनिक मेसिन एक्स-रे मेसिन खरिद गरिएको हो । उपप्रमुख डङ्गोलले, आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँचलाई सरल, सहज र गुणस्तरीय बनाउँदै लैजाने क्रममा एक्स–रे सेवा थप गरिएको बताइन् ।
“माग र आवश्यकताका आधारमा सेवालाई विस्तार र सुदृढ बनाउँदै लैजानेछौँ । आधारभूत स्वास्थ्य सेवाबाट कसैले पनि वञ्चित हुनु नपर्ने अवस्था बनाउँछौँ”, उनले भनिन् । वडाअध्यक्ष सङ्गतले मानव संशाधन, प्रविधि र उपकरण थप गर्दै लैजाने योजना रहेको बताइन् । उनका अनुसार कामपाबाट सञ्चालन भएको एक्स–रे सेवा प्रदान गर्ने यो पहिलो वडा हो ।
विभागको भण्डार शाखा प्रमुख कमलप्रसाद भट्टराईका अनुसार वडा नम्बर ७, ८, १०, १२, १४, १६, १९, २६, २७ र ३२ गरी १० वटा वडामा एक्स–रे सेवा जडान हुँदैछ । यसका लागि १० जना रेडियोग्राफर नियुक्त गरिसकिएको छ ।

प्रतिक्रिया