काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आग्रह गरेका छन् ।
प्रमुख दलका नेताले निर्वाचन हुनेमा आशंका गरिरहेका बेला उनले सो निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आह्वान गरेका हुन्।
आइतबार काठमाडौँमा आयोजित संविधान कार्यान्वयनका दश वर्ष, उपलब्धि, समस्या, चुनौती र सुझाव नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनलाई सफल पार्नु सबै नेपालीको साझा कर्तव्य भएको समेत बताए ।
उनले संविधानको आवश्यक समीक्षा गरी संशोधनका लागि इमानदार भएर लाग्न पनि सबै राजनीतिक दलको ध्यानाकर्षण गराए ।
अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण हुने गरी संविधान संशोधन गर्न आवश्यक रहेको समेत बताए ।
उनले भने,‘जेन–जी आन्दोलनले उठाएका माग र सवालमा सबै पक्षको यथेष्ट ध्यान जानु जरुरी छ । साथै माग ११ गतेको राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु हामी सबै नेपालीको साझा कर्तव्य हो ।’

प्रतिक्रिया